कपिलवस्तु, ३ वैशाख । कम्युनिस्ट आन्दोलनका पाका नेता खुवीराम आचार्यको निधन भएको छ । दरबार हाइस्कुलको पठन पाठन तथा सुधारका लागि २००४ सालमा सञ्चालित ‘जयन्तु संस्कृतम्’ आन्दोलनमा सक्रिय सहभागी मध्ये थोरैमा पर्ने आचार्यको ९३ वर्षको उमेरमा आज निधन भएको हो ।
अर्घाखाँचीको अर्घा अधेरिमा १९८० साल जेठमा जन्मनु भएका आचार्य जिवनको अन्तिम दिनसम्म मुलुकलाई समृद्ध बनाउन र जनताको मुहारमा खुशी ल्याउन कसरी सकिन्छ भनेर चिन्तित हुनुहुन्थ्यो ।
२०१६/१७ सालदेखि मुलुकको कम्युनिस्ट राजनीतिको केन्द्र भागमा रहेर काम गरेका आचार्य बिगत ३६ बर्षदेखि दृष्टिविहीन हुनुहुन्थ्यो । २०३८ सालमा अर्घाखाँचीमा भएको प्रहरी दमनमा उहाँ पर्नुभएको थियो । त्यतिबेला प्रहरीले पक्राउ गरी उहाँलाई निर्मम यातना दिएको थियो । उहाँलाई मरेको भन्दै प्रहरीले फालिदिएको थियो । तर संयोगले बाँच्न सफल हुनुभएको थियो । त्यसपछि उहाँ दृष्टिविहीन हुनुभएको थियो । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार सदस्य रहँदै आउनुभएका उहाँ सैद्धान्तिक एकताका आधारमा एकीकृत माओवादीसँग पार्टी एकताको पक्षधर हुनुहुन्थ्यो ।
आचार्यलाई तत्कालीन सरकारले २००४ सालमा राज्यद्रोहको मुद्दा लगाई देश निकाला गर्ने निर्णय गरेको थियो । उहाँले पञ्चायतीकाल २०१७ देखि २०२२ सालसम्म भूमिगत भएर पार्टीको काममा सक्रिय योगदान पु¥याउनुभएको थियो ।
स्वर्गीय खुवीराम आचार्य नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यका सुसरा हुनुहुन्थ्यो । अध्यक्ष वैद्यले कपिलवस्तुको लक्षमनघाट पुगेर आचार्यको पार्थीव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
स्वर्गीय आचार्यका विभिन्न पुस्तकसमेत प्रकाशित भइसकेका छन् ।












प्रतिक्रिया