१ कार्तिक २०८३, आइतबार

सुनकोसी पहिरोले कोसीमा पनि बाढी आउने खतरा, काभे र सिन्धुलीमा पनि उच्च सतर्कता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-pahiro

इटहरी, १७ साउन । सिन्धुपलाञ्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनाले सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सुनकोसी नदीमा आएको बाढी सिधै सप्तकोसी नदीमा आइपुग्ने भएकाले सुनसरीमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जानकारी दिनुभयो ।

बिहानैदेखि प्रमुख जिल्ला अधिकारी ढकालको नेतृत्वमा सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठक बसेर विसं २०६५ साल भदौ २ गते तटबन्ध भत्किएर भएको जनधनको नोक्सानी जस्तो नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

भारत विहार राज्यको सुपौल जिल्लाका जिल्ला प्रमुख लक्ष्मीप्रसाद चौहानसँग पनि सम्पर्क स्थापित गरेर उहाँको निर्देशनमा कोसी ब्यारेज प्रमुख राजेश कुमारलाई ब्यारेजमा उच्च सतर्कताका साथ नियन्त्रण सावधानी अपनाउन भनिसकिएको बताइएको छ ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले पनि सम्बन्धित जिल्लामा रहेका नेपाली सेनालाई भोटेकोसी, सुनकोसी, दूधकोसी हुँदै सप्तकोसी नदी आसपासका बस्तीलाई जोखिम हुन सक्नेतर्फ सतर्क रहन सूचना प्रवाहका लागि परिचालन गरेको छ ।

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा बसेको सुरक्षा समितिको बैठकले पनि अति संवेदनशील क्षेत्रका रुपमा रहेका बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र हरिपुर तथा कोसी ब्यारेज क्षेत्रमा बसोवास गर्दै आएका मानिसलाई उच्च सजगताका साथ बस्न सूचित गर्न प्रहरी प्रशासन परिचालन गरेको बताइएको छ ।

भोटेकोसीको पहिरो अवरोध भत्किएर एक्कासि कति पानी आउन सक्छ भन्ने प्राविधिक अनुमान गर्ने कार्यसमेत भइरहेको बताइएको छ । कति पानी आउँदा ब्यारेजका ५६ ढोकामध्ये कति वटा ढोका खोल्दा सहजै रुपमा पानी जान सक्छ र ब्यारेजलाई खतरा नहुन सक्छ भनेर भारत सुपौलका जिल्ला प्रमुख चौहानले प्राविधिक टोली नै परिचालन गरेको पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

काभ्रे पनि उच्च सतर्कता

सुनकोसी नदी पहिरोले थुनिएपछि काभ्रेपलाञ्चोक जिल्लाको नदी आसपासका झन्डै ८ गाविसमा उच्च सतर्कता अपनाइएको छ ।

नदी आसपासमा रहेका दोलालघाटमा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले जानकारी दिनुभएको छ ।

पानीको बहाव कस्तो हुन्छ, त्यसले पनि प्रभाव पार्न सक्छ दोलालघाट पुग्नुभएका प्रजिअ न्यौपानेले भन्नुभयो ।

खासगरी नदी आसपासका भुम्लुटार, सस्र्युखर्क कोसीदेखा बोल्दिफेदिचे सरमथली मेत्क्षेलगायतका गाविसमा उच्च सर्तकता अपनाइएको हो ।

सिन्धुलीमा पनि बिहानै दैवीप्रकोप उद्धार समितिको बैठक डाकेर उच्च सतर्कता अपनाइएको छ ।