– विमल योगी
काठमाडौं, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सरकारको कामकारवाहीमा असन्तुष्टि जनाएका छन् ।
पार्टीका महामन्त्री एवं श्रम र वाणिज्यमन्त्री दीपक बोहराले आज राजधानीमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले भने, ‘सरकारको काम कारवाहीमा हाम्रो सन्तुष्टि छैन् । जनताका पक्षमा सरकारले बढीभन्दा बढी काम गर्नुपर्छ ।’
सरकारले भूकम्पपीडितको गर्नुपर्ने पुनर्निमाणको काम तदारुकताको साथ गर्न नसकेको भन्दै उनले भने, ‘वैदेशिक फ्रन्टमा र देशभित्रै केही समस्या छन् । त्यसलाई सरकारले राम्रोसँग मिलाउनुपर्छ ।’
विदेशीहरू र भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने संकेत गर्दै चन्दले जनताले ‘गुड गर्भनेन्स’ चाहेको र राहत दिनुपर्ने बताए ।
‘जनता आशमा छन् । तर, सरकारले चित्तबुझ्दो काम गरेन । यो त अति भयो’, उनले भने ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी, महामन्त्री बुद्धिमान तामाङ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।













प्रतिक्रिया