१ कार्तिक २०८३, आइतबार

अपडेट: सुनकोशीको बाँध फुट्ने खतरा, नदी खुलाउन विष्फोटको तयारी, बस्ती खाली गरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkosiचौतारा, १७ साउन । सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोबाट थुनिएको नदीको डुबानमा पर्दा अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ । मृतकको पहिचान हुन सकेको छैन

प्रहरीका अनुसार डुबानमा परेर गम्भीर घाइते भएका तीन जनाको बाह्रबिसेस्थित स्टोन अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते १२ जनाको खाडीचौरस्थित सशस्त्र प्रहरी वेसक्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौँ लाने बाटोसमेत बन्द भएकाले थप समस्या भएको छ ।

अहिले राम्चेतर्फबाट पनि पहिरो झरेकाले नदी तत्काल खुल्ने सम्भावना नभएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म वनसाँघुको ड्याममा रहेको करिब २० घर पूर्णरुपमा डुबानमा परिसकेका छन् ।

बाढीलाई मध्यनजर गर्दै अरनिको राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ । काठमाडौँबाट जाने सवारी साधनलाई दोलालघाट नजिकै वनदेउमा रोकिएको छ भने तातोपानीबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनलाई बाह्रबिसेमाथिको खोर्सानीबारीमा रोकिराखेको छ ।

पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ भागिसकेका छन् ।

अहिले प्राविधिकसहितको नेपाली सेनाको टोली राजधानीबाट आएपनि नदी खोल्न सकेको छैन ।

थुनिएको सनुकोसी नदी खुलाउन विष्फोट गर्ने तयारी

sunkosi4थुनिएको सुनकोसी नदी खुलाउन तथा स्थानीयवासीलाई सुरक्षित गराउन सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको छ । थुनिएको ठाउँ खोल्नका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बिहान जारी केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा यसबारेमा गम्भीर छलफल भइरहेको छ । सो पहिरोका कारण नदी थुनिँदा ३ किलोमिटर लम्बाइ, ३ सय फिट चौडाइ र ९० मिटरको गहिराइको ताल बनेको बैठकमा जानकारी गराइयो ।

बैठकमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, गृह मन्त्रालयका सचिव सूर्य सिलवाल, प्रवक्ता लक्ष्मीप्रसाद ढकाल तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको छ । थुनिएको अवस्थालाई तोड्न सरकारले कुनै पनि बेला विस्फोट गराउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

यसैबीच गृह मन्त्रालयका प्रवक्ता ढकालले आज जारी गर्नुभएको अत्यन्त जरुरी सूचनामा उक्त पानीको प्रवाहबाट सुनकोसी नदी आसपासमा बस्ने बासिन्दाहरु प्रभावित हुन सक्ने हुँदा सुरक्षित स्थानमा जानका लागि आग्रह गर्नुभएको छ ।

साथै स्थानीय प्रशासनले घटनाबाट प्रभावित हुने नदी किनाराका बासिन्दालाई नजिकको सुरक्षा निकाय, स्थानीय सञ्चार माध्यममार्फत सुरक्षित स्थानमा जाने जानकारी दिने व्यवस्था गर्न पनि सूचनामा अनुरोध गरिएको छ ।