काठमाडौँ,३० चैत । चाबहिलस्थित गङ्गाहिटी र नयाँ सडकस्थित धर्मपथमा बनाउन लागिएका नयाँ दुई दमकल केन्द्रको नक्साङ्कनको काम सकिएको छ ।
गङ्गाहिटीमा निर्माण हुन लागेको दमकल केन्द्र इटाली तथा धर्मपथ केन्द्रको अमेरिकाको सहयोगमा निर्माण हुन लागेको जुद्ध वारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै केन्द्रका नक्सा सहयागी राष्ट्रबाट नै आइसकेको र सोही देशका प्रतिनिधिले निर्माण गर्न लागेको स्थानको अवलोकन गरेपछि काम सुरु हुन्छ ।
तिनको लागत मूल्य क्रमशः रु दुई करोड र पाँच करोड अनुमान गरिएको छ । नक्सानुसार दुवै केन्द्रका लागि दुई रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ । ती प्रत्येक केन्द्र दुई तलाका हुनेछन् । भुइँतलामा दमकल र अग्नि नियन्त्रणका सामान राखिनेछन् । त्यसैगरी दोस्रो तलामा अग्निनियन्त्रक र केन्द्रका अन्य कर्मचारी रहने बताइएको छ ।
हाल काठमाडौँ उपत्यकाका तीन जिल्लामा तीन मात्र दमकल केन्द्र छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्दा सो सङ्ख्या अत्यन्तै कम भएकाले हुनाले दुर्घटनालाई ध्यानमा राख्दै सो केन्द्र निर्माण गर्न लागिएको हो । रासस
















प्रतिक्रिया