काठमाडौँ, १६ साउन । प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार यहाँ आउनुहुने भएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालाले स्वागत गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीको सम्मानमा १९ तोपको सलामी दिइनेछ । सोही दिन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
आइतबार अपराह्न नै दुवै देशका प्रधानमन्त्रीहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट र त्यसपछि दुई मुलुकका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ ।
त्यसपछि उहाँले सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट गर्नुहुनेछ । भेटपछि भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका–संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उक्त मन्त्रालयले आज अपराह्न पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आइतबार साँझ प्रधानमन्त्री मोदी नेपालका लागि भारतीय राजदूतले आयोजना गर्नुहुने स्वागत समारोहमा सरिक हुनुहुनेछ । त्यसै दिन साँझ भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री कोइरालाले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान उहाँले पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम छ । त्यसैगरी सोही दिन उहाँले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा रामवरण यादवसँग शिष्टाचार भेट गर्नुहुनेछ । भेटपछि राष्ट्रपति डा यादवले प्रधानमन्त्री मोदीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।
यसैगरी सोमबार अपराह्न भारतीय प्रधानमन्त्री मोदीसँग विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा व्यापारिक समुदायले सामूहिक तथा व्यक्तिगतरुपमा पनि भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
दुई दिने औपचारिक भ्रमण पूरा गरी उहाँ साउन १९ गते स्वदेश फर्कनुहुनेछ ।
सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट परम्परागतरुपमा रहीआएको नेपाल र भारतबीचको घनिष्ठ एवम् सुमधुर सम्बन्धको सुदृढीकरण एवम् द्विपक्षीय सहयोगको अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।
यसैबीच, पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री पाण्डेले भारतीय प्रतिनिधिमण्डलमा ७० देखि ७५ जना अधिकारी सामेल हुने तर द्विपक्षीय वार्तामा दुवै देशका २५ देखि २७ जना वरिष्ठ अधिकृत सहभागी हुने जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्रीसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव एवम् सहसचिवहरु नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै नेपाल–भारत सहयोगसम्बन्धी सबै विषयका निक्र्योल द्विपक्षीय वार्तापछि मात्र हुने स्पष्ट गर्नुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो, “पारस्परिक हितका विभिन्न विषयमा हस्ताक्षरको प्रक्रियामा पुगेका छौँ, तर द्विपक्षीय वार्तापछि मात्र कुन कुन विषयमा सहमति भयो भन्न सकिन्छ ।”
उहाँले भारतसँग विद्युत् व्यापार सम्झौता (पिटीए)हुनसक्ने उल्लेख गर्दै अहिलेनै निर्णय भइनसकेको र सम्झौतासम्बन्धी सबै काम मन्त्रिपरिषद्ले अनुमोदन गर्ने स्पष्ट पार्नुभयो ।
पशुपतिमा मोदी दर्शनको तयारी अन्तिम चरणमा
मोदीले आगामी सोमबार पशुपतिमा गर्न लाग्नुभएको दर्शन एवम् पूजाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी साउन १९ गते सोमबार बिहान ९ बजे दर्शन एवम् पूजाका लागि पशुपतिमा आइपुग्ने कार्यक्रम रहेको कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो । बिहान ८:३० बजे पशुपतिका चारवटै ढोका खुल्ने भएकाले ९ बजेपछि मोदीले दर्शन एवम् पूजा कार्यक्रम तय गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीलाई कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले पशुपति दर्शनको क्रमअनुसार दर्शन गराई परिक्रमापछि दक्षिण ढोकाबाट मूल मन्दिरमा प्रवेश गराउने कार्यक्रम रहेको पनि निर्देशक सिटौलाले बताउनुभयो ।
मूल मन्दिरमा प्रवेश गरेपछि प्रधानमन्त्री मोदीले सबै मुहारको दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको सदस्य–सचिव टण्डनले बताउनुभयो ।
मोदीसँगै भारतीय ब्राह्मणहरू पूजाका लागि आउने भन्ने गलत प्रचार सञ्चार माध्यममा भएको जानकारी पनि निर्देशक सिटौलाले दिनुभयो । मोदीलाई पूजा गराउन भारतीय ब्राह्मण नआउने बताउँदै निर्देशक सिटौलाले कोषले नै सञ्चालन गरेको नेपाल वेद विद्या आश्रमका १५१ ब्राह्मण बटुकले स्वस्ति वाचन गरी प्रधानमन्त्री मोदीको स्वागत गरी दर्शन एवम् पूजा अवधिभर वैदिक मन्त्रोच्चारण गर्ने पनि उहाँले बताउनुभयो ।
मोदीले मूल मन्दिरभित्र गर्नुहुने विशेष पूजा भने पशुपतिनाथका मूलभट्ट गणेश भट्टले गराउनुहुनेछ । यी सबै कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि निर्देशक सिटौलाले बताउनुभयो ।
राजधानीको सडकमा नेपाल–भारत झण्डा
मोदीको नेपालको दुईदिने राजकीय भ्रमणका सिलसिलामा काठमाडौँका विभिन्न सडकका दायाँबायाँ रहेका फ्लयाग पोस्ट (झण्डा राख्ने पोल) मा नेपाल र भारतको राष्ट्रिय झन्डा फहराइएको छ ।
गृह मन्त्रालयअन्तर्गत समर्जङ कम्पनी कार्यालयबाट स्वदेशी वा विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा जाँदा उहाँहरूको सम्मानमा सडकका दायाँ बायाँ रहेका फ्लयाग पोष्टहरूमा सम्बन्धित देशको राष्ट्रिय झन्डा राख्ने चलन रहँदै आएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, पद्मोदयमोड पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, नयाँ सडक, महाँकाल, वीर अस्पताल अगाडि, भोटाहिटी, तीनधारा, बागबजार चोक, रत्नपार्क, केशरमहल, लैनचौर, राजदरबारको दक्षिण गेट, थापाथली, त्रिपुरेश्वरलगायतका सडकका दायाँबाँया रहेका फ्लयाग पोस्टहरूमा झण्डा राखिने गरिन्छ ।
यसपटक भारतीय प्रधानमन्त्रीको दुईदिने भ्रमणका क्रममा पनि नेपाल र भारतको राष्ट्रिय झन्डा फहराइएको समर्जङ कम्पनी कार्यालयका प्रमुख प्रकाश पन्तले जानकारी दिनुभयो ।
यसैगरी कालीमाटी र सोल्टीमोडमा सडक फराकिलो गर्दा हटाइएका पोलहरू पुनः नराखिएका कारण ती स्थानमा झन्डा राख्न नसकिएको कार्यालयबाट झन्डा सजाउन खटिएका कमाण्डर माधव त्रिपाठीले जानकारी दिनुभयो ।
विसं. १८६१ भन्दा पहिलेदेखि सुरु भएको उक्त प्रचलन हालसम्म कायम रहेको उल्लेख गर्दै कार्यालयका प्रमुख पन्तले झन्डा राख्ने सिमेन्टका पोलहरू जीर्ण भएकाले करिब ३० वटा पोलमा यसपटक झन्डा राख्न नसकेको बताउनुभयो ।
मन्त्रालयको निर्देशनमा राष्ट्रप्रमुख वा सरकार प्रमुखको सवारी रुटका आधारमा मात्र झन्डा राख्ने गरिएकामा यसपटक पोल भएको ठाउँका फ्लयाग पोष्टमा झन्डा राखिएको कार्यालयले जनाएको छ ।
मन्त्रालयको निर्देशनअनुसार यही साउन १८ र १९ गते हुने मित्रराष्ट्र भारतका प्रधानमन्त्रीको राजकीय भ्रमणका क्रममा करिब ५२४ वटा पोलमा २६२ नेपाली र २६२ भारतीय राष्ट्रिय झन्डा राखिएको छ । ती झन्डाहरू भ्रमणको अघिल्लो दिन राख्ने र भ्रमण सकिएको भोलिपल्ट निकाल्ने गरिन्छ ।
भद्रकाली, भृकुटीमण्डप, रत्नपार्क, बागबजार र तीनधारामा रहेको प्रत्येक पोलमा नेपाल र भारतको संयुक्तरुपमा झन्डा राखिएको र अन्य स्थानमा रहेको पोलमा नेपाल र भारतको झन्डा क्रमैसँग एउटा एउटा राखिएको छ । रासस
















प्रतिक्रिया