काठमाडौं, २८ चैत । नेकपा माओवादीका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजधानीमा गोप्य अगुवा कार्यकर्ता भेला गरी संगठन विस्तारमा लाग्ने कडा निर्देशन दिएका छन् ।
काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा शनिबार दिनभरि ‘विप्लव’ले आफ्ना उपत्यकाभित्रका अगुवा कार्यकर्ताहरूलाई गोप्य प्रशिक्षण दिएका हुन् । प्रशिक्षणका क्रममा महासचिव ‘विप्लव’ले आफूहरूनै सच्चा माओवादी रहेको दाबी गर्दै अन्य माओवादीहरूको कुनै अस्तित्व बाँकी नरहेको बताए ।
‘जनयुद्धबाट आएको सहि माओवादी हामी हौँ’, प्रशिक्षणमा सहभागी एक नेताले भने, ‘अरुले माओवादी पार्टी नाम राख्दैमा जनता र जनयुद्धको प्रतिनिधित्व गर्न सक्दैनन् ।’ महासचिव विप्लवले अब आफूहरूको ध्यान संगठन विस्तार र सुदृढीकरणमा रहने बताए ।
लामो प्रशिक्षणका क्रममा महासचिव ‘विप्लव’ हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णयका विषयमा पनि अगुवा कार्यकर्ता भेलामा जानकारी गराएका थिए ।
तत्काल अरु माओवादी पार्टीहरूसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका विप्लवले भने, ‘सबै माओवादी पार्टीका नेताहरू व्यक्तिवादी सोँचमा गएको छन्, वर्गीय उन्नती र विकासमा उनीहरूको चिन्ता छैन । अब गरिव, मजदुर र वर्गीय लडाइँलाई हामीले भन्दा अरुले नेतृत्व गर्न सक्दैन ।’












प्रतिक्रिया