काठमाडौँ, १६ साउन । पर्यटन मन्त्री भीम आचार्यले संविधानसभाको दोस्रो निर्वाचनपछि नेपालमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएको बताउनु भएको छ । उहाँले सूर्यकिरण श्रेष्ठले लेख्नु भएको पुस्तक ‘होटल व्यवस्थापन एक सरल जानकारी’ पुस्तकको विमोचन गर्दै शुक्रवार यस्तो बताउनु भएको हो ।
‘अहिले नेपालमा विस्तारै लगानीको वातावरण बन्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘संविधानसभाको दोस्रो निर्वाचनपछि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत लगानीप्रति आकर्षित हुन थालेका छन् ।
उहाँले आगामी तीन वर्ष भित्रमा नेपालमा पाँच तारे होटलमा कम्तीमा १ हजार कोठा थपिने पनि जानकारी दिनुभयो ।
‘व्यवस्थापन विषयको अध्ययन गरिरहेका विद्यार्थीका लागि त्यति बेला रोजगारीको समेत अवसर मिल्ने निश्चित छ,’ मन्त्री आचार्यले भन्नुभयो, ‘स्वदेशमै रोजगारी सिर्जनाका लागि सरकार लागि परेको छ ।
त्यसैगरी उहाँले व्यवस्थापनको ज्ञान भयो भने साना–साना होटलमा थोरै पूँजीको लगानी गरेर पनि करोडौँ कमाउन सकिने दाबी गर्नुभयो ।
माइलस्टोन प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक चिया पसलदेखि अति विशिष्ट श्रेणीका होटल, होटल व्यवसाय सुरु गर्न चाहने हरेक व्यवसायी तथा होटल व्यवस्थापनका सबै तहका विद्यार्थीका लागि उपयोगि हुने लेखक श्रेष्ठले दाबी गर्नुभयो ।
कार्यक्रममा माइलस्टोन कलेजका अध्यक्ष डा. विजय पौड्यालले पुस्तक नेपाली संस्कृति वुझाउँने पहिलो पुस्तक भएका दाबी गर्नुभयो । उहाँले सामान्य बोलीचाली र सरसफाईको अभावमा होटल व्यवसाय फस्टाउन नसकेको भन्दै पुस्तकमा ती विषय पनि समावेश भएको बताउनु भयो ।
‘पुस्तक व्यवस्थापनका विद्यार्थीलाई मात्र होइन गृहिणीका लागि पनि त्यत्तिकै उपयोगी छ,’ उहाँले भन्नुभयो । पुस्तकका वारेमा श्रेष्ठ परामर्शदाताका रुपमा समेत कार्यरत हुनुहुन्छ ।
















प्रतिक्रिया