काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा गठन गरेको ११ सदस्यीय उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले असन्तुष्टि जनाएका छन् ।
उक्त समितिमा मन्त्री थापाको नाम छैन् । संवेदनशील विषय संघीयताको छिनोफानो गर्न गठन गरिएको समितिबाट प्रम ओलीले आफूलाई आउट गरेको भन्दै थापा रिसाएका हुन् ।
स्रोतका अनुसार यसैकारण थापाले शुक्रबारको मन्त्रिपरिषद बैठक बहिष्कार गरेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेकै बेला राजधानीमै रहेका थापाले क्याविनेटमा नगएर सिंहदरबारमा चीन भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनसम्बन्धी बैठक बोलाएका थिए ।
बैठकको बहाना बनाएर थापाले मन्त्रिपरिषद बैठक बहिष्कार गरेका हुन् ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ११ सदस्यीय उच्चस्तरीय निर्देशक समितिमा रक्षा, अर्थ, गृह, कानून र सामान्य प्रशासनमन्त्री, मुख्यसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्य-सचिव सदस्य छन् । तर, स्थानीय विकास मन्त्रीसमेत रहेका थापा समितिमा परेका छैनन् ।
पछिल्लो समय थापासँग प्रधानमन्त्री ओली चिढिएका छन् । जसका कारण महत्वपूर्ण समितिबाट आउट गरिरहेका छन् ।












प्रतिक्रिया