काठमाडौं, २५ चैत । नेपाली कांग्रेस संसदीय दलको नेतामा भारी मत ल्याएर पार्टी सभापतिमा हालै निर्वाचित भएका शेरबहादुर देउवा बिजयी भएसगै कांग्रेसमा कोइराला परिवारको बिरासतको अन्त्य भएको छ ।
कांग्रेसको फागुन अन्तिम साता भएको १३औं महाधिवेसनमा समेत कोइराला परिवारका उत्तराधिकारी भनेर दाबा गर्ने डा. सशांक, डा. शेखर र सुजाताको समर्थनमा सभापतिमा उम्मेदवार बनेका रामचन्द्र पौडेल पराजित भएसगै कोइराला परिवारको बिरासतको अन्त्यको शुरुआत भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
बुधबार कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा देउवाले आफ्ना प्रतिष्पर्धी रामचन्द्र पौडेललाई दोब्बर भन्दा बढी अर्थात ७२ मत अन्तरले पराजित गरेका छन् ।
दुई सय ७ सांसद रहेको कांग्रेस ससदीय दलमा सांसद नरहरी आचार्यबाहेक सबै सांसदले मतदान प्रक्रियामा भाग लिएका थिए । देउवाले एक सय ३९ मत ल्याएका थिए भने पौडेलले ६७ मत मात्र ल्याए ।
पौडेलको यो मत करिब ३३ प्रतिशत अर्थात एक तिहाई मात्र हो । संस्थापन पक्षको आफुलाई उत्तराधिकारी ठान्ने रामचन्द्र पौडेलले यति थोरै प्रतिशत मात्र मत प्राप्त गरेपछि पुरानो संस्थापन पक्ष कमजोर बनेको हो ।
दुई बर्षअघि भएको पार्टी संसदीय दलको निर्वाचनमा देउवा तत्कालिन पार्टी सभापति शुसील कोइरालासँग १६ मत अन्तरले पराजित भएका थिए । तर यसपटक देउवाको पक्षमा संस्थापन पक्षकै करिब आठ सांसद देखिएका थिए ।
देउवालाई साथ दिने पुरानो संस्थापन पक्षधर सांसदहरुमा केबी गुरुङ, केशवकुमार बुढाथोकी, फर्मुल्लाह मन्सुर, अर्जुननरसिंह केसी, जगदीश्वरनरसिं केसी, अर्जुनप्रसाद जोशी, मानबहादुर बिश्वकर्मा र चन्द्र भण्डारी रहेका छन् । देउवालाई यसरी भारी मत दिएर संसदीय दलको नेता जिताउनको लागि सभापतिका प्रत्यासी भएका कृष्णप्रसाद सिटौलाको समूहको महत्वपूर्ण योगदान रहेको छ ।
सिटौलासँग देउवाले बुधबार बिहान करिब आधा घण्टा छलफल गरी संसदीय दलको नेतामा उम्मेदवारी दिन गएका थिए । देउवासँगको सहमति अनुसार देउवाको समर्थकमा पद्मनारायण चौधरीले हस्ताक्षर गरेका थिए ।
देउवाले उम्मेदवारी दिंदा सिटौलाको तर्फबाट चौधरीसहित असोक कोइराला, संखुवासभाका सांसद तारामान गुरुङ, उषा गुरुङ लगायतका सांसद कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए । सिटौलालाई मातृ शोक परेपछि उनले गगन थापालाई संसदीय दलको नेतामा कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्ने जिम्मेवारी दिएका थिए ।
देउवा र सिटौलाबीच भएको गोप्य सहमति अनुसार संसदीय दलको उपनेतामा गोपालमान श्रेष्ठलाई मनोनित गर्ने, उपसभापतिमा केवी गुरुङ वा बिमलेन्द्र निधिमध्ये एकलाई ल्याउनु पर्ने र महामन्त्रीमा निधि वा पूर्णबहादुर खड्कामध्ये एकलाई मनोनित गर्ने सहमति भएको छ ।
त्यस्तै, सरकारमा पार्टीको सहभागिता हुँदा ३३ प्रतिशत कोटा सिटौलाको भागमा सुरक्षीत गर्ने सहमति भएको छ । जसअनुसार केन्द्रीय कार्य समिति बिस्तार गर्दा १९ मा ६ जना सिटौलाको सिफारिसमा हुनुपर्ने सहमति छ ।
जसअनुसार दुई जना गगन थापा र उमाकान्त चौधरीलाई यसअघि नैं केन्द्रीय कार्य समितिमा देउवाले मनोनित गरिसकेका छन् । जसअनुसार अब सिटौलाको भागमा चारजना पर्ने पक्का छ ।
स्रोतका अनुसार सिटौला पक्षधर करिब ३० सांसदले समेत देउवालाई भोट हालेपछि देउवाले आरामदायी बहुमत ल्याएका हुन् । जसअनुसार सिटौला, गगन थापा, सुधिरकुमार शिवाकोटी, उषा गुरुङ, अमृतलाल राजबंसी, सूर्यमान गुरुङ, तारामान गुरुङ, गणेश बिमली, पुस्कर आचार्य, असोक कोइराला, भोटनीदेवी खवास, पद्मनारायण चौधरी, रामकुमार चौधरी, मोहन बराल, राजेन्द्र अमात्य, भिमसेनदास प्रधान, रीता शाही, राजु खनाल, चन्द्रा जोशी, आशा बिक, मैकुलाल बाल्विकी, तप्तबहादुर बिष्ट, दीलकुमारी राई, अब्दुल कमाल, प्रकाश पौडेलले समेत देउवालाई सभापतिमा मतदान गरेका थिए ।
देउवा र सिटौलाको योजना अनुसार देउवालाई ३५ भोट आउने अनुमान गरिएको थियो । तर, बुधबार दिउसो सम्ममा सुरेन्द्र चौधरी, प्रदीप पौडेल, रामकृष्ण यादब र चिनकाजी श्रेष्ठले समेत देउवालई मत हालेका थिए ।















प्रतिक्रिया