काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै केपी शर्मा ओली नेतृत्वको सरकारको आयु पनि तोकिएको छ ।
कालोबजारी, तस्करीलाई कारवाही गर्न नसकेको, भूकम्पबाट क्षतिग्रस्त पुनर्निर्माणको लागि कुनै ध्यान नदिएको र मधेशको जायज माग सम्बोधन नगरेको भन्दै हिन्दू युवा जनशक्ति संघ नेपालले विज्ञप्ति नै जारी गरेर ओली सरकारको आयु तोकेको हो ।

हाल भारतको पटनामा रहेका संघका अध्यक्ष विकाश कुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा देउवाको जित संगै बैशाखको मध्यसम्म ओली सरकार ढलेर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना एकदमै रहेको उल्लेख छ ।
नेपाललाई हिन्दू राज्य बनाउनका लागि वकालत गरिरहेको संघले वैशाख दोस्रो सातासम्म कांग्रेसका सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेको हो ।
‘कालाबजारी, तस्करीलाई कारवाही गर्न नसक्ने, भुकम्पबाट क्षतिग्रस्त पुनर्निर्माणको लागि कुनै ध्यान नदिने र मधेशको जायज माग सम्बोधन गर्न नसक्ने ओली सरकारको कुनै काम नै छैन् । खोक्रो राष्ट्रवादको नारा दिएर बैदेशिक शक्तिहरुसंग समबन्ध विगारेर देश बिकासको लागि पाईने अनुदानमा कटौती ओलीकै कार्यकालमा भएकोले ओली राष्ट्रवादी राष्ट्रघाती प्रधानमन्त्री हुन्’ विज्ञप्तिमा भनिएको छ– ‘ओलीको कार्यकालमा देश समृद्ध हुनै सक्दैन । त्यसैले अहिलेको समयमा प्रधानमन्त्रीको लागि देउवा भन्दा राम्रो कोई हुन सक्दैन । जसले जे भने पनि हामी ग्यारेन्टीका साथ भन्छौं कि देउवाकै कार्यकालमा देशले निकास पाउनेछ, देश समृद्ध हुनेतर्फ उन्मुख हुनेछ ।’
















प्रतिक्रिया