२९ आश्विन २०८३, बिहिबार

‘तीज आयो, बजारमा सुन छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

कैलाली, १५ साउन । महिलाहरुको सबैभन्दा ठूलो पर्व हरितालिका तीज नजिकिँदै जाँदा कैलालीमा सुन आयात गर्न रोक लगाइएपछि उनीहरु मर्कामा परेका छन् ।

सुनचाँदी व्यवसायी समिति कैलालीमा देखिएको विवादका कारण राष्ट्रिय सुनचाँदी महासङ्घले दुई महिनादेखि सुन आयातमा रोक लगाएपछि महिलाहरु मर्कामा परेका हुन् । तीजमा महिलाले गरगहना लगाएर साथीसङ्गीसँग रमाइलो गर्ने र माइत जाने भए पनि यो वर्ष सुन अभावकै कारण निकै मर्कामा परेको धनगढी नगरपालिका–५ जाईकी जनक जैगडीले बताउनुभयो ।

बजारमा सुनको अभाव भएपछि पसलहरुमा दिनहुँ ठूलो भीड लाग्ने गरेको छ । धनगढी—२ की कमला विकले पनि गहना बनाउन जाँदा कैयन दिन सुन छैन भनेर फर्किनुपरेको गुनासो गर्नुभयो ।

सुनचाँदी व्यवसायी जगत सुनारले सुन नभएपछि ग्राहकलाई रित्तो हात फर्काउनुपरेको बताउनुभयो । उहाँले नेपालगन्ज र काठमाडौँबाट सुन ल्याए पनि ग्राहकको माग समयमा पूरा गर्न नसकिएको बताउनुभयो । त्यसैगरी अर्का व्यवसायी कमल लामिछानेले सुनका लागि जिल्ला समितिले सिफारिस गर्नुपर्ने भए पनि आन्तरिक विवादका कारण सिफारिस नदिने गरेकाले ग्राहकहरु मारमा परेको बताउनुभयो ।

कैलालीमा एक हप्तामा करिब चार किलो सुन आयात हुने गरेकामा दुई महिनादेखि त्यो रोकिएपछि करोडौँको नोक्सानी भएको व्यापारीहरुको भनाइ छ । आठ किलो सुनको रु तीन करोडभन्दा बढी रकम हुन आउँछ । यसले जिल्लामा आर्थिक क्रियाकलापमा समेत प्रभाव पारेको उनीहरुको दाबी छ । तर सुनचाँदी व्यवसायी समिति कैलालीका अध्यक्ष सन्तोष लामिछानेले भने विवादका कारण सुन आपूर्तिमा समस्या नभएको बताउनुभयो ।