काठमाडौँ, १६ चैत । पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ६६ स्कोरको अन्तरले हराएको छ । घरेलु मैदानमा प्रभावशाली खेल देखाएको नेपालले ९२ स्कोर गरेको थियो भने बङ्गलादेशले २६ स्कोर मात्र गर्न सक्यो । नेपाललाई सहज जित दिलाउन स्नेहा श्रेष्ठले २५ स्कोर गरेकी थिइन् ।
प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १०६–३७ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपाल बास्केटबल सङ्घको आयोजनामा यही चैत २० गतेसम्म हुने प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रका टोलीले भाग लिएका छन् । जसमा नेपालसहित बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्सले भाग लिनेछन् भने आन्तरिक कारण देखाउँदै दुई राष्ट्र भारत र पाकिस्तानले भाग नलिएको बताइएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार भुटान र श्रीलङ्का तथा नेपाल र माल्दिभ्सबीच खेल हुनेछन् । रासस
















प्रतिक्रिया