१ कार्तिक २०८३, शनिबार

नेपाल-चीन सम्झौताबारे बोले भारतीय नेता ऐयर, भारतलाई ठूलो नोक्सानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mani-shankar

काठमाडौं, १६ चैत । नाकाबन्दीका बेला नेपालको पक्षमा वकालत गरेका भारतको प्रमुख विपक्षी दल राष्ट्रिय कांग्रेसका प्रभावशाली नेता मणिशंकर ऐयरले नेपाल-चीन सम्झौता र सम्बन्धबारे टिप्पणी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक ऐयरले मोदीमाथि व्यंग्य गर्दै नेपाललाई चीनको अंगालोमा धकेलेकोमा बधाई छ समेत भनेका छन् । उनले नेपाल चीनतिर धकेलिनुमा मोदी दोषी हुन भन्दै यसले भारतलाई ठूलो नोक्सानी भएको उल्लेख गरेका छन् ।

भारतको एनडी टिभीको अनलाईन संस्करणमा मंगलबार एक आलेखमार्फत भारत सरकारका पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका ऐयरले नेपाल र चीन सम्झौता तथा मोदी सरकारको नेपाल नीतिबारे टिप्पणी गरेका हुन् ।

भारतीय रवैयाका कारण नेपाल चीनतर्फ ढल्किएको विश्लेषण गर्दै नेता ऐयरले भारतलाई ठूलो नोक्सानी हुने बताए । उनले भने– ‘नरेन्द्र मोदी र विदेशमन्त्री सुस्मा स्वराज (जो आफूबाहेक अरुलाई ‘अराष्ट्रिय’ भन्छन्) भारतको उत्तरी सीमामा रहेको सुरक्षाको बाँध भत्काउन सफल भएका छन् । त्यो बाँध सैन्यरुपमा रणनीतिक थियो ।’

नेपालको सार्वभौमिकताविरुद्ध मोदी–स्वराजले छाडा शक्ति प्रदर्शन गरेका कारण नेपाल–भारत सम्बन्धमा तिक्तता आएको भन्दै उनले यसबाट भारतले ठूलो मूल्य चुकाउनुपर्ने आफूले देखेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा भारत भ्रमण गरेर सम्बन्ध सुधार गर्ने अवसर दिँदा पनि मोदी सरकारले त्यसको सदुपयोग गर्न नसकेको र भारतले नेपालको एउटा पूरै पिढीको सद्भाव गुमाएको भन्दै नेता ऐयरले आलेखमार्फत चिन्ता व्यक्त गरेका छन् ।