संखुवासभा, १४ साउन । सदरमुकाम आउने गोरेटो बाटो पहिरोले बगाइदिएपछि जिल्लाको सीमावर्ती विकट उत्तरी–३ गाविसका सर्वसाधारण महिनौँ दिनदेखि चीनबाट खाद्यान्न ल्याएर गुजारा गर्न बाध्य भएका छन् ।
महिना दिनभन्दा अगाडि जिल्लाको सीमावर्ती विकट उत्तरी गाविस हटिया–४ स्थित मामाहा भिरमालगातारको वर्षासँगै गएको पहिरोले गोरेटो बाटो बगाइदिएपछि खाद्यान्नलगायत अति आवश्यक सामग्री सदरमुकाम खाँदबारीबाट ढुवानी गर्न नसक्दा चीनसँग सिमाना जोडिएका हटिया, किमाथाङ्का र चेपुवा गाविसका तीन हजारभन्दा बढी सर्वसाधारण मारमा परेको हटिया गाविसका दावा भोटेले बताउनुभयो ।
बाटो अवरुद्ध भएपछि पहाडी भरिया भनेर चिनिएका खच्चड, चौँरीबाट सामान ओसारपसार गर्न नसक्दा महिनौँ दिनदेखि चीनतर्फबाट चार दिनभन्दा लगाएर ओसारेर जीवन गुजारा गर्न बाध्य भएको चेपुवाकी ओंदी भोटियाले गुनासो गर्नुभयो ।
महिनौँ दिनदेखि सदरमुकामबाट विच्छेद हुनु परेको भन्दै तत्काल गोरेटो बाटो निर्माण गरी आवतजावत सहज गराउन भन्दै तीन गाविसका सर्वसाधारणले स्थानीय विकास अधिकारी कृष्णप्रसाद धिताललाई एक ज्ञापनपज्ञ बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै उहाँले तीन गाविसका सर्वसाधारणले भोग्नु परेको पीडा सुनेर आफू पनि दुखित भएको भन्दै सम्बन्धित क्षेत्रको वस्तुस्थिति बुझी चाँडै नै बाटो खुलाउने प्रयासमा लाग्न निर्देशन दिइसकेको बताउनुभयो ।
















प्रतिक्रिया