३० आश्विन २०८३, शुक्रबार

नेपालमै पहिलो पटक उखु खेतीमा ‘चिप कटर’ प्रविधि भित्रियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chip-cutter-sugar

कञ्चनपुर, १५ चैत । नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् ।

प्रविधिअन्तर्गत उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना तयार गर्ने कार्य यहाँका कृषकले गरेका छन् ।

ग्रिनहाउसमा पोलिमर ब्यागमा राखिएका आख्लाबाट १० हजार उखुका बेर्ना तयार गरिएको इटाहा विपद् व्यवस्थापन समितिका सचिव मङ्गलप्रसाद चौधरीले बताउनुभयो ।

परम्परागत प्रविधिअन्तर्गत पूरै उखुलाई जमिनमा गाडेर खेती गरिँदै आएको थियो उहाँले भन्नुभयो, “जसबाट बीउमै अधिक उखु खर्चिनु पर्दथ्यो, नौलो प्रविधि भित्रिएपछि आख्ला मात्रै मेसिनबाट निकालेर बाँकी उखुलाई चिनी मिलमा बेच्न सकिने हुन्छ ।” कम जग्गा भएका कृषकलाई यस प्रविधिले निकै सघाउने कृषि प्राविधिक कलावती ठगुन्नाले बताउनुभयो ।

उहाँका अनुसार परम्परागतरुपमा लगाउँदै आएको उखुको तुलनामा उन्नत प्रविधिको प्रयोग गरी तयार गरिएको उखुले कृषकको लागत घटने, कम बीउ लाग्ने, समयको बचत हुने र बढी उत्पादन दिने हुन्छ ।

उखु खेतीमा संलग्न भारतीय कृषकले चिप कटर प्रविधिको दुई दशक अघिदेखि प्रयोग गर्दै आए पनि यहाँका कृषकले पहिलोपटक यस प्रविधिको प्रयोग गर्न थालेका हुन् ।

नौलो प्रविधिको प्रयोग र मेसिन खरिदका लागि नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरिएको आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाअन्तर्गत सहयोग उपलब्ध गराएको छ । यहाँका कृषकले बगर संरक्षण गरी नौ बिगाह बढी जग्गामा उखु खेती गर्दै आएका छन । उखु खेतीमा ५२ घरघुरीका बासिन्दा संलग्न रहेका छन् ।

वार्षिकरुपमा यहाँका कृषकले करिब तीन हजार क्विन्टल उखु बिक्री गर्दै आएका छन् । भवितव्यबाट उखु बालीमा हुने नोक्सानी व्यहोर्नका लागि बिमासमेत गरेका छन् । रासस