१ कार्तिक २०८३, आइतबार

कारागारभित्रै व्यवसाय गरेर राम्रो कमाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Moneyफलेवास (पर्वत), १५ चैत । अग्लो पर्खाल अनि काँडेतारको चौघेराभित्र एउटा टिनले छाएको अनि चौफेरै बोराले बारबेर गरेको राजन टेलर्स लेखिएको छाप्रो छ ।

छाप्रोभित्र व्यस्त देखिन्छन् ३१ वर्षीय राजन परियार । हातमा सीप हुने हो भने परिस्थितिले जहाँ पु¥याए पनि हात पट्याएर बस्नु पर्दैन भन्ने राम्रो उदाहरण कारागारभित्र परियारले प्रस्तुत गरेका छन् ।

पाँच वर्षअघि गौवद (गाई मारेको) अभियोगमा सजाय भुक्तान गर्दै आएका पर्वत रानीपानी–४ का राजन परियारले अहिले कारागारभित्रै बसेर मासिक रु २० देखि २५ हजारसम्म आम्दानी गर्दै आएका छन् ।

परियार २०६८ सालबाट कारागारमा सजाय भुक्तानी गर्दै आएका छन् । गाउँमा नै गाई मारेको अभियोगमा पर्वत जिल्ला अदालतले उनलाई छ वर्ष जेल सजाय सुनाएको थियो । अहिले उनले आफ्नो गल्तीको पश्चात् त गरेका छन् नै तर कारागारभित्र बस्नुमा कति पनि दुःखी छैनन् । परियारले सानै उमेरदेखि आफ्ना काकाबाबु नरबहादुर दर्जीको प्रेरणामा कोट पाइन्ट सिलाउन सिकेका थिए । अहिले त्यही सीप उनी र उनको परिवारका लागि बाच्ने आधार बनेको छ ।

परियारले विशेष गरी कोट पाइन्ट नै सिलाउने गर्छन् । उनले यसरी कोट सिलाएबापत प्रतिकोट रु ८०० देखि एक हजारसम्म ज्याला लिने गरेका छन् । कारागारभित्रै भए पनि उनलाई कामको कुनै खाँचो छैन । अहिले पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित राम्रो गनिएका टेलर्स व्यवसायीले समेत परियारसमक्ष नै पुगेर कोट सिलाउने अर्डर दिने गरेका छन् ।

उनले दुई दिनमा तीन वटासम्म कोट सिलाउन भ्याउने बताए । यसरी सिलाइकटाइ गरेको पैसाले नै परिवार चलेको उनी बताउँछन् “केटाकेटी सानै छन्, परिवारमा आम्दानीको स्रोत केही छैन, यसै गरी कमाएको पैसाले परिवार धानिएको छ” उनले भने “मेरो हातमा यति सीप नहुने थियो भने केटाकेटीको कुन हालत हुन्थ्यो होला ?” आफूले आफैँलाई प्रतिप्रश्न गर्दै उनले कारागारबाटै परिवारको गुजारा चलाएको स्पष्ट पारे ।

पर्वत कारागारमा रहेका कैदीबन्दीमध्ये सिलाइकटाइ व्यवसाय सञ्चालन गरेका उनी एक्ला कैदीबन्दी हुन् । उनलाई सहयोगका लागि नवलपरासी घर भई जबर्जस्ती करणीमा जेल सजाय भुक्तान गरिरहेका जसबहादुर रोका पनि छन् । उनलाई काममा सघाएकै कारण मासिक रु पाँचदेखि छ हजारसम्म रोकाको पनि आम्दानी हुने गरेको छ ।

गाउँमा रहँदासमेत कोट पाइन्ट सिलाउन खप्पिस मानिएका परियारले अहिले कारागारभित्रै टेलर्स व्यवसाय सञ्चालन गरेर गतिलो आम्दानी गर्न थालेपछि कारागारमा रहेका १८ जना पुरुष र पाँच जना महिला कैदीबन्दीलाई पनि सिलाइकटाइ तालिम सुरु गरिएको छ ।

कारागार प्रशासनको पहल र व्यावसायिक तालिम तथा सीप विकास केन्द्रको सहयोगमा तालिम सञ्चालन गरिएको कारागारमा कार्यरत प्रहरी सहायक निरीक्षक बद्री तिमिल्सिनाले बताउनुभयो । रासस