ललितपुर, १४ चैत । नेकपा एमाले संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको छ ।
नेकपा एमाले ललितपुर ३ नम्बर निर्वाचन क्षेत्रीय कमिटीद्वारा चैत १४ गते बज्रबाराहीमा आयोजित बनभोज तथा प्रशिक्षण कार्यक्रममा नेता नेम्वाङ्ले सो कुरा बताउनुभएको हो ।
उहाँले ३/४ वटा देशलाई छोडेर हेर्ने हो भने महिलाका मामिलामा यति समावेशी संविधान कतै पनि नबनेको दावी गर्नुभयो ।
बनाइएको संविधानलाई कार्यान्वयन गर्नका लागि लोकतान्त्रिक राजनीतिक शक्ति एकै ठाउँमा उभिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
झण्डै ९० प्रतिशतको हस्ताक्षर भएको संविधानलाई जनताको नभन्नेहरूले ५२ प्रतिशतले हस्ताक्षर गरेको अमेरिकाको संविधान र ६५ प्रतिशतल हस्ताक्षर गरेको भारतको संविधान धेरै राम्रो भन्दै हिँडेकोमा आश्चर्य व्यक्त गर्दै नेम्वाङ्ले भन्नुभयो-‘अरुले सिकाएको मात्रै गर्नेहरुले विवेक प्रयोग गर्न जान्दैनन् । सक्दैनन् । हामीले यति गर्यौं, उति गर्यौं भन्दै छिमेकीलाई रिपोर्टिङ् गर्छन् । त्यसैबाट बुझ्नुहोस् कि उनीहरुको उद्देश्य के छ ?’ नेम्वाङले नेपालको संविधानले कुनै वर्ग, क्षेत्र, जाती, लिङ्ग, धर्म र समुदायलाई विभेद नगरेको पनि प्रष्ट्याउनुभयो ।
कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले संगठन सञ्चालनसम्बन्धि प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य एवम् साँसद सुशीला नेपाल, एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलगायतले प्रशिक्षण दिनुभएको जानकारी क्षेत्रीय कमिटीका सचिव विष्णुप्रसाद हुमागाईंले दिनुभएको छ । कार्यक्रममा २ सयभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।













प्रतिक्रिया