१६ कार्तिक २०८३, सोमबार

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले के-के निर्णय गर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बसेको बैठकले सम्बन्धित विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्ने निर्णय गरेको हो।

पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनी शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो। छानबिनबाट प्राप्त निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्नुपर्ने पनि बैठकको निर्णयमा उल्लेख छ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबारे हुने अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको सर्वोच्चले जनाएको छ।

त्यस्तै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने किसिमका समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ। न्यायपालिकाप्रति आम नागरिक र सेवाग्राहीको आस्था तथा विश्वासमा नकारात्मक असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न पनि बैठकले सचेत गराएको छ।

पूर्ण बैठकले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित न्यायिक कार्यमा सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ।