१ कार्तिक २०८३, आइतबार

गाविस सचिवले पुनःनिर्माण प्राधिकरणलाई सहयोग नगर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-punarnirman

दोलखा, १४ चैत । दोलखाका गाविस सचिवले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अघि बढाउने काममा सहयोग नगर्ने बताएका छन् ।

जिल्लामा रहेको सचिवहरुको सङ्गठन, गाविस हकहित संरक्षण केन्द्र दोलखाले आज प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, पुनःनिर्माण प्राधिकरणका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्मा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मासमक्ष पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै पुनःनिर्माणको काममा सहयोग नगर्ने बताएका हुन् ।

केन्द्रले बुझाएको ज्ञापनपत्रमा एक गाविसमा एक सचिव पदको व्यवस्था गरिनुपर्ने, गाविस सचिवलाई शतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्ने, पुनःनिर्माणमा अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवामा एकरुपता कायम गरिनुपर्ने माग राख्दै सरकारले सुरु गरेका पुनःनिर्माण अभियानमा सहयोग गर्न अनिच्छा देखाएका हुन् ।

भिरकोट गाविसका सचिव प्रेमप्रकाश खत्री भन्नुहुन्छ – “हामी मेसिन होइनाँै । हामीले कति काम गर्ने ? जनताका सानासाना कामदेखि भूकम्पपछि पीडितलाई राहत, अस्थायी आवास निर्माणलगायत विभिन्न पक्षका काममा हामीले सहयोग गरेका थियौँ । अब सहयोग गर्न सक्दैनौँ ।

सरकारले भूकम्पपीडित जिल्लाका गाविसमा गाविस सचिवको अभाव हुन नदिने भने पनि दोलखाका १३ गाविस सचिवविहीन रहेका छन् । केही दिन अगाडि १६ गाविसमा सचिव नभएकामा अहिले तीन गाविसमा काज सरुवा गरी सचिव पठाइएको जिल्ला विकास समिति दोलखाले बताएको छ ।

यता, पुनःनिर्माण प्राधिकरणले काम थालेसँगै सरकारले भूकम्पपीडित परिवारलाई अनुदानका रुपमा दिने रु दुई लाखको प्रथम किस्ता वापतको रु ५० हजार रकम दिने सबै कार्य सकेर बैंकमा रकमसमेत पठाइसकेको बताएको छ । पुनःनिर्माण प्राधिकरण दोलखाका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्माका अनुसार फागुन महिनाको ३० गतेदेखि सुरु गरिएको आवास पुनःनिर्माण अभियानअन्तर्गत अहिलेसम्म लामिडाँडा र लादुक गाविसका ५१९ घर परिवारलाई अनुदान रकमका लागि सम्झौता गरिसकिएको छ ।

गाविस सचिवले काम गर्न नमानेपछि आगामी केही दिनका लागि पुनःनिर्माण प्राधिकरणको काम स्थगन गरिएको छ । रासस