बगदाद, १३ चैत । इराकको राजधानी बगदादको दक्षिणी भागमा अवस्थित एक सहरमा फुटबल म्याचका क्रममा एक आत्मघाती हमला हुँदा कम्तिमा ३० जना मारिएका छन् ।
आत्मघाती हमलाकारीले फुटबल हेरिरहेका दर्शकहरूको बीचमा आएर आफूलाई बमले उडाउँदा घटनास्थलमै कम्तिमा ३० जना मारिएका हुन् ।
स्थानीय पुलिस र चिकिस्तकहरूले यस घटनाको पुष्टि गरेका छन् । सहरका पुलिस प्रमुख अल असरियाले एएफपीलाई बताए अनुसार फुटबल प्रतियोगिताका बिजेतालाई उपाधि र ट्रफी वितरण गरिरहेका बेला आत्मघाती आक्रमण भएको थियो ।
यो गाउँ इराकको सिकन्दरिया सहर नजिकै रहेको छ । पुलिस प्रमुख असरियाले बताए अनुसार घटनामा कम्तिमा ६५ जना घाइते भएका छन् । हमलामा त्यो सहरका मेयर पनि मारिएका छन् ।
सिकन्दरियाको एक अस्पतालका डाक्टरले मृतकको संख्या पुष्टि गर्दै घटना शुक्रबार साँझ करिब ७ बजे भएको बताएका छन् । यो घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।
बगदादबाट ४० किलोमिटर दक्षिणमा अवस्थित शिकन्दरिया सिया मुसलमानको बाक्लो बसोबास भएको सहर हो ।
एएफपीका अनुसार मारिने मानिसहरुमा यो टोलका मेयर पनि रहेका छन् । इस्लामिक स्टेटले यसअघिबाटै इराकका सिया मुसलमानको बाक्लो बसोबास भएको क्षेत्रमा आक्रमण गर्दै आएको छ । – एएफपी















प्रतिक्रिया