१ कार्तिक २०८३, आइतबार

कमल थापा भन्छन्, नेपालको राजनीतिक विषयमा मोदीसँग किन कुरा गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapa

काठमाडौ, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा गर्नै नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले हिन्दूराष्ट्र, राजसंस्था, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएकोले त्यसमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा उहाँसंग यसवारेमा कुनै कुरै नगर्ने प्रष्ट पारे ।

साक्षात्कारमा थापाले भने– हामी हिन्दुराष्ट्र, राजतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएको कारण यसलाई हामी आफैले समाधान गर्नुपर्छ, यसमा भारतीय प्रधानमन्त्रीलाई तानेर विवाद बढाउनु हुँदैन ।

थापाले मोदीको भ्रमणमा यस्ता आन्तरिक कुरा उठाएर विवादमा पार्न नहुने जिकिर गरे । उनले मोदीको भ्रमणको बेला नेपालले राजनीतिक विषय छाडेर आर्थिक विकासको एजेण्डालाई अघि सार्नु पर्ने तर्क गर्दै भारतले अहिले नेपाललाई उच्च प्राथमिकतामा राखेकोले भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास ब्यक्त गरे ।

अध्यक्ष थापाले मोदीले छिमेकी पहिले भन्ने अवधारणा ल्याएकोले आसन्न भ्रमण समस्या समाधानको विन्दु हुनसक्ने दावी गर्दै संसदमा मोदीले गर्ने संबोधनमा भारतीय धारणा र ऐजण्डा अर्थात नेपालप्रतिको नयाँ भिजन सार्वजनिक हुने विश्वास ब्यक्त गरे ।

नेपाल–भारतवीचको सम्बन्ध बहुआयामिक भए जस्तै समस्या पनि बहुआयामिक नै भएको भन्दै त्यसको समाधानको लागि नेपाल आफैले रोडम्याप तय गर्नु पर्नेमा जोड दिए । उनले भने– सम्बन्ध जस्तै सीमा अपराध, तस्करी,ब्यापार घाटा लगायतका बहुआयामिक समस्या छन । समाधानको लागि नेपालले रोडम्याप बनाउनु पर्छ । एक दशक देखि नेपाल भारत सम्बन्ध ट्रयाक बाहिर छ यसलाई समाधान गर्न पहल गर्नुपर्छ । उनले थपे–समस्या समाधान भन्ने कुरा उपर्युक्त ढंगले गर्नुपर्छ ।

थापाले भ्रमणको बेला दुबै देशको हित हुने गरी आर्थिक समृद्धिका एजेण्डा उठाउनु पर्ने भन्दै नयाँ सम्भावनाको खोजीको रुपमा समेत भ्रमणलाई उपयोग गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।

मोदीको भ्रमण अघि तीन दलले सेण्डिकेड बनाएर राष्ट्रिय सहमतिको खोक्रो एजेण्डा तय गर्न लागिएको भन्दै उनले त्यसलाई तोडेर सबै दलको सहमतिमा एजेण्डा तय गर्नुपर्ने बताए । थापाले भने– तीन दलको घेरमा गरिने राष्ट्रिय सहमति प्रत्यूत्तपादक हुन्छ । सरकार सहमति जुटाउन उदासिन देखिएको छ ।