– नरेन्द्रसिह कार्की
दार्चुला, ११ चैत । महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्नेको संख्या यस आर्थिक वर्षको आठ महिनामा दार्चुलामा ह्वात्तै बढेका छन् । महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा छुट पाइने भएपछि ह्वात्तै बढेको हो ।
पछिल्लो समय घरजग्गा रजिष्ट्रेशन गर्दा ग्रामीण भेगको हकमा ५० प्रतिशत र शहरी क्षेत्रमा २५ प्रतिशत छुट दिएपछि महिलाहरुको नाममा बढि घरजग्गा दर्ता हुन थालेको हो । जिल्ला मालपोत कार्यालयका अनुसार फागुनमसान्तसम्म ग्रामीण भेगका छुट पाउने ५६ र शहरी क्षेत्रका ६७ जना महिलाहरुले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गरेका छन् ।
जसमा दलित महिला ५ जना, मुक्ति हलियाका ६ जना, अपांगता भएाकाहरु १ जनाले समेत आफ्नो नाममा घरजग्गा रजिष्ट्रेशन गरेको जिल्ला मालापोत कार्यालय दार्चुलाले जनाएको छ । महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्दा छुट हुन्छ भन्ने जानकारी पाएसँगै नाममा हाल्ने संख्या बढेको हो, मालपोत कार्यालय दार्चुलाका सूचना अधिकृत एवं नायब सुब्बा आनसिह डागाले बताए ।
यस्तै मालपोत कार्यालयमा सबै प्रकारका घरजग्गा रजिष्ट्रेशन गर्नेको संख्या ५ सय ५७ पुगेको छ । जसमा ग्रामीण भेगका ३ सय ७० र शहरी क्षेत्रको १ सय ८७ छ । मालपोत कार्यालयमा महिलाको नाममा घर जग्गा रजिष्ट्रेशन गराए ग्रामीण भेगमा ५० प्रतिशत, शहरी क्षेत्रमा २५ प्रतिशत, त्यस्तै बृद्धको हकमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।
कार्यालयले घरजग्गा रजिष्ट्रेशनबाफत आठ महिनाको अवधिमा ३८ लाख ४० हजार ५ सय ७६ राजस्व संकलन गरेको छ ।
एक सय ७५ क्वीन्टल मकैको बीउ वितरण गरिने
जिल्ला कृषि विकास कार्यालय दार्चुलाले यस वर्ष १ सय ७५ क्वीन्टल मकैको विउ वितरण गर्ने भएको छ । किसानको मकै छर्ने बेला नजिकै आइरहेको बेला कृषिले किसानको सहजताको लागि विउ वितरण गर्ने तयारी गरेको हो ।
कृषिले यस वर्ष मनकामना ३ र देउती नामक बीउ वितरण गर्ने तयारी गरेको बरिष्ठ कृषि विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । किसानहरुको मनकामना र देउतीमा आकर्षण बढेको कारण सोही विउलाई निरन्तरता दिइन लागेको शर्माले बताउनुभयो ।
दार्चुलाको लागि शंकरपुर गाविसमा रहेको लटिनाथ विज बृद्धि कृषक समूहले बीउ उत्पादन गर्ने गरेको छ । स्थानीय बीउ उत्पादकलाई प्रोत्साहन गर्ने गरिएको हो । जिल्ला कृषि विकास कार्यालयले ७५ प्रतिशत अनुदानमा विउ विक्री गर्दै आएको छ ।
जिल्लामा कुल मकै उत्पादन हुने क्षेत्रफल ५ हजार ५ सय ३० हेक्टर रहेको छ । जसमा मकै उत्पादन ८ हजार ७ य ५७ मेट्रिक टन उत्पादन हुने गरिएको शर्माको भनाई छ । मकैको विउ एक हेक्टर बराबर एक क्वीन्टल बीउ खपत हुने गरेको छ ।
















प्रतिक्रिया