नेकपा एमालेको नवौँ महाधिवेशनपछिको परिणामलाई तपाईले कसरी लिनु भएको छ ?
हामीले नेकपा एमालेको नवौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गरेका हौँ । त्यसैले हामीले नवौँ महाधिवेशनमा गरेका लोकतान्त्रिक अभ्यासलाई सकारात्मक रुपमा लिएका छौँ । आगामी दिनमा लोकतान्त्रिक अभ्यासका क्रममा भएका विभिन्न खालका गतिविधि र कोरिएका विभाजनका रेखालाई मेटाउँदै पार्टीलाई एक ढिक्का र एकतावद्ध बनाएर अघि बढाउनुपर्ने दायित्व कार्यकर्ताले हाम्रो काँधमा सुम्पिएका छन् । नवौँ महाधिवेशनले एमालेको नीति, विचार र सिद्धान्तलाई एकमना एकताका साथ पारित गरेको छ । त्यही कुरालाई ख्याल गरेर आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु पर्छ । हामी त्यही अनुरुप अघि बढ्छौँ । यो हाम्रो प्रतिबद्धता पनि हो ।
नेकपा एमालेको नवौँ महाधिवेशनमा तपाईहरू प्यानल नै बनाएर चुनाव लड्नु भयो । त्यतिबेला एमाले भित्र गुट–उपगुटको प्रभाव प्रत्यक्ष रुपमा देखियो । अब महाधिवेशनपछि त्यसको प्रभाव रहन्छ कि रहँदैन ?
समूहगत रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेको यो पहिलो पटक होइन । यो भन्दा पहिला पनि हामी प्यालन बनाएर नै चुनाव लडेका थियौँ । हामीमा विगतका कुरा छिट्टै भुल्ने र ताजा कुराको मात्र स्मरण गर्ने बानी छ । त्यसैले विगतमा पनि प्यालबनाएरै निर्वाचन लडेकाले यसलाई अन्यथा मान्नु हुँदैन भन्ने मेरो मान्यता छ । तर, मतपत्रमै प्यालन बनाएर जसरी हामी यो पटक चुनावी प्रतिष्पर्धामा उत्रियौँ, यो कति उचित थियो वा थिएन भन्ने कुराको चाँही हामीले समीक्षा गर्नुपर्ने हुन्छ ।
विचारमा कुनै मतभिन्नता नरहेको अवस्थामा नेतृत्व छनोटका सन्र्दभमा भएको प्यानलवन्द्धीलाई अस्थायीरुपमा लिनु सबै भन्दा उचित हुन्छ । अब हामी एकतावद्ध भएर राष्ट्रका साझा चुनौतीको सामना गर्ने, संविधान निर्माण गर्ने जस्ता कुरामा केन्द्रित हुनुपर्छ । त्यो सँगै स्थानीय निर्वाचनलगायतमा अन्य दलसँग गर्ने प्रतिष्पर्धामा विजयी हाँसिल गर्ने गरी हामी एकजुट र एकढिक्का एमाले भएर अघि बढ्नुपर्छ ।
चुनावी प्रतिष्पर्धामा हार्नुभएका र पार्टीलाई आवश्यक पर्ने नेताहरूको जिम्मेवारीका बारेमा तपाईहरूले केही तयारी गर्नुभएको छ ?
एमालेका प्रत्येक नेता कार्यकर्ता पार्टीका अमूल्य नीधि हुन् भन्ने कुरालाई कहिल्यै विर्सनु हुँदैन । सबैलाई हामीले यथोचित भूमिका दिनुपर्छ । हाम्रा नवनिर्वाचित अध्यक्षले यो कुराको ख्याल गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । अहिले पार्टीको महाधिवेशन सम्पन्न भइसकेको छ । महाधिवेशनका बेला भएका विभिन्न खालका प्यानलवन्द्धीलाई आधार मानेर कसैलाई काखा र कसैलाई पाखा गर्ने कुरा संभव हुँदैन । व्यक्तिको योग्यता, क्षमता र पार्टीमा गरेको योगदान अनि क्रियाशीलतालाई आधार मानेर जिम्मेवारी दिनुपर्छ । हामी पनि यही कुरामा भूमिका खेल्ने छौँ ।
यो संभव छ र ?
जितेर आउँनेले मैले जितेर आएँ भन्ने खालको दम्भ देखाउँने अनि, निर्वाचनमा पराजित भएकाले म निर्वाचनमा पराजित भएर खतम भएँ भन्ने खालको मानसिकता देखाउँनु हुँदैन । त्यसले पार्टी गतिशील बन्न सक्दैन । त्यस्ता खालका मानसिकताको हामीले अन्त्य गर्नुपर्छ । महाधिवेशनको धङधङी सकिन केही समय लाग्न सक्छ । तर, विस्तारै यस्ता कुराको अन्त्य भएर जाने छ ।
चुनावी प्रतिष्पर्धामा हार्नुभएका नेता माधवकुमार नेपालको जिम्मेवारी के हुन्छ ?
माधवकुमार नेपाल हाम्रो पार्टीको अत्यन्त जिम्मेवार, लगनशील, क्रियाशील र अनुभवी व्यक्तित्व हुनुहुन्छ । उहाँको योगदान उहाले पार्टीमा खेल्नु भएको भूमिका अहिले पनि निक्कै महत्वपूर्ण मानिन्छ । उहाँ आन्तरिक प्रतिष्पर्धामा पराजित भए पनि उहाँले पार्टीमा गरेको योगदान र भूमिका कम महत्वपूर्ण छैन । त्यसैले उहाँलाई महत्वपूर्ण जिम्मेवारी दिने कुरामा हामी सचेत छौँ । हाम्रो पार्टी अध्यक्ष पनि त्यही अनुरुप अघि बढ्नु हुने छ । उहाँको भूमिका देश, जनता र पार्टीलाई अहिले पनि आवश्यक छ ।
उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ , यसलाई कसरी लिनु भएको छ ?
उपाध्यक्षका दश जना उम्मेदवारमा महाधिवेशन प्रतिनिधिले मलाई सबैभन्दा बढी मत दिनुभयो । त्यसका लागि सबैभन्दा पहिला सबै प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । ममाथि जति ठूलो विश्वास गरेर प्रतिनिधिले मत दिनुभएको छ । म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु, म मेरो सम्पूर्ण बुद्धी, विवेक र आफूसँग भएका योग्यता क्षमता देश, जनता र हाम्रो पार्टी नेकपा एमालेको हितमा खर्च गर्ने छु । प्रतिनिधिले देखिाएको मप्रतिको सम्मानको सधैँ म उच्च सम्मान गर्ने छु ।
अहिले उपाध्यक्षमा कसलाई वरिष्ट बनाउँने भन्ने कुराको विवाद एमाले भित्र देखिएको छ । एकथरीले महाधिवेशन प्रतिनिधिले दिएको मतको आधारमा तपाईंलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्छ भनेका छन् भने, अर्कोथरीले वरिष्ठताका आधारमा वामदेव गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्छ भनेका छन् । यो विषयमा तपाईको धारणा के– छ ?
यो कसलाई कसरी कुन भूमिकामा लैजाने भन्ने कुरा हामी आफैँले भनेर हुने कुरा होइन । यो पार्टीले निर्धारण गर्ने कुरा हो । पहिलो कुरा पार्टी विधानमा वरिष्ठ उपाध्यक्ष भन्ने किटान नै गरिएको छैन । त्यसैले भूमिका दिदाँ कसलाई वरिष्ठको भूमिका दिने भन्नेमा मात्र हो । जहाँसम्म वरिष्ठका कुरा छन्, म आफैँले मलाई यो वा त्यो चाहियो भन्ने कुरा हुँदैन । म सधैँभरी पार्टीको हित र प्रगतिका लागि निरन्तर लागि रहने व्यक्ति हुँ । यसो भएका कारण पार्टीले दिएको जिम्मेवारी र भूमिका मेरा लागि सर्वमान्य हुनेछ । पार्टीले मेरो योग्यता, क्षमता र क्रियाशीलतालाई मूल्याङ्कन गर्न सक्छ भन्नेमा म ढुक्क छु ।
नवौँ महाधिवेशनमा गरेको प्यानलवन्द्धीलाई तपाई के–भन्नुहुन्छ ?
मैले आठौँ महाधिवेशनको समयमा जुन वेला हामी लोकतान्त्रिक अभ्यासको कुरा गरिरहेका थियौँ, त्यही बेला पनि मैले अहिलेको परिवेशमा नेकपा एमालेलाई प्रतिष्पर्धाको बाटोतर्फ नहिडाउँ भनेको थिएँ । तर, मैले राखेको प्रस्तावलाई नेतृत्व तहमा रहनुभएका नेताहरूले मान्नुभएन । जसको कारण हामी आठौँ महाधिवेशनमा प्रतिष्पर्धामा जान बाध्य भयौँ । मैले नवौँ महाधिवेशनका सन्र्दभमा पनि त्यही कुरा राखेँ । अहिले संविधान जारी भएको छैन । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु पर्ने वाध्यता छ । यसका लागि एमालेको भूमिका महत्वपूर्ण रहने छ । त्यसैले चुनावी प्रतिष्पर्धामा नजाऔँ भनेको थिएँ । पार्टी भित्र हुने प्रतिष्पर्धालाई यो अवस्थामा मर्यादित र स्वच्छ बनाउनुपर्छ भनेर मैले भनेको थिएँ । जसरी हामी प्रतिष्पर्धाको स्थितिमा गयौँ । त्यो अवस्थामा कतिपय कुरा प्रिय बनेनन् । हामीबीचमा मन भाँचिने र मन कुँडाउने अवस्था पनि महाधिवेशनका सन्र्दभमा भयो । जुन कुरा हामीले नगरेको भए हुने थियो ।
नेकपा एमालेको भूमिका संविधान निर्माणमा कस्तो रहन्छ ?
हामीले पहिलो संविधानसभामा पनि संविधान निर्माणका लागि शसक्त भूमिका खेलेका थियौँ । कुनै एउटा जातीका नाममा प्रदेश बनाएर नेपाललाई जातीय विभाजनमा लगेर अनन्त कालसम्म जातीय विभेदको भूमरीमा फसाउँनु हुँदैन भनेर हामीले भूमिका खेल्यौँ । अहिले अझ भन्ने हो भने संविधानसभामा हाम्रो पार्टी थोरै मात्र सिट कम भएर दोस्रो स्थानमा रहेको भए पनि राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका महत्वपूर्ण रहेको छ । त्यसैले आगामी दिनमा नेपाली जनतालाई छिटोभन्दा छिटो नेपाली जनतालाई संविधान दिने कुरामा एमालेले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउन पनि एमालेले भूमिका खेल्नुपर्छ ।
संयुक्त सरकार सञ्चालनमा एमालेको भूमिका कस्तो रहन्छ ?
संयुक्त सरकारले संविधान निर्माणका लागि उपयुक्त हुनेगरी महत्वपूर्ण भूमिका खेल्नुपर्छ । संयुक्त सरकारको गठन पनि त्यही उद्देश्यका साथ भएको हो । सरकारले त्यही खालको भूमिका खेल्नुपर्छ । तर, अहिलेको सरकारले जनताको चाहना र आकाक्षां अनुरुप जति काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन् । त्यो कुरा सरकारमा सहभागी मन्त्रीहरूले पनि स्वीकार गर्नुभएको छ । हामीले ल्याएको राजनीतिक परिवर्तनलाई वोकेर हिड्ने कुराप्रति सरकार सचेत हुनुपर्छ ।
आगामी दिनमा नेकपा एमालेको भूमिका के हुन्छ ?
नेकपा एमाले आगामी दिनमा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर नेपालको मार्गचित्रको यथोचित विश्लेषण गरेर अघि बढ्ने छ । हाम्रो पहिलो लक्ष्य भनेको लोकतान्त्रिक संविधान निर्माण हो । त्योसँगसँगै आर्थिक संवृद्धि हाँसिल गर्ने एमालेको अर्को लक्ष्य हो । राष्ट्रिय पूँजीको विकास गरेर समाजवादको बाटोमा जाने मार्गप्रसस्त गर्ने एमालेको स्पष्ट लक्ष्य रहेको छ । नेपाल र नेपाली जनताको हितलाई सर्वोपरी राखेर नेपालको स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान र अखण्डतालाई सुदृढ तुल्याउँने र आजको प्रतिष्पर्धी विश्वमा हामीले नेपालीको पहिचानलाई उजागर गर्ने मार्गचित्रका साथ एमाले अघि बढ्ने छ ।













प्रतिक्रिया