म्याग्दी, १० चैत । पश्चिम म्याग्दीको दुर्गम चार गाविसलाई व्यापारिक केन्द्र दरवाङ बजारसँग जोड्ने दरवाङ–खाम्ला सडक आयोजना सुरु भएको छ ।
सडक डिभिजन कार्यालय बागलुङले दरवाङ–बिम–मराङ कल्लेनी हुँदै मुदीको खाम्ला जोड्ने सडकको स्तरवृद्धि गर्न आयोजना सुरु गरेको हो । आयोजनामार्फत जिविस र उपभोक्ताले खनेको दरवाङदेखि शिवरात्रि खोलासम्मको ६ किलोमिटर सडक स्तरवृद्धि गरिने भएको छ ।
म्याग्दीबाट निर्वाचित सांसद नवराज शर्माको सिफारिसमा आयोजना सञ्चालन भएको जनाइएको छ । निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँसम्मको एउटा आयोजना सञ्चालन गर्न सिफारिस गर्न पाउने व्यवस्थाअनुसार शर्माले दरवाङ–खाम्ला सडकलाई सिफारिस गर्नुभएको थियो ।
हिरा एन्ड नमिता जेभी नाना ब्रदर्सले उक्त सडक फराकिलो बनाउने, ग्याबिन र पक्की पर्खाल लगाउने लगायतका कामको ठेक्का पाएको छ । आयोजना प्रतिस्पर्धामार्फत तीन करोड ८९ लाख रुपैयाँमा सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच सम्झौता भएको हो । सम्झौताअनुसार २०७३ साल मङ्सिर महिनासम्म सडकको काम सम्पन्न हुने हिरा एन्ड नमिता जेभी नाना ब्रदर्सका सञ्चालक रवीन्द्र कार्कीले बताउनुभयो । सडकलाई कम्तीमा सात मिटर चौडा बनाइने भएको छ । कार्यक्षेत्रमा अहिले दुईवटा मेसिन र ३० जना मजदुरले काम गरिरहेका कार्कीले बताउनुभयो ।
सात वर्ष लगाएर दरवाङदेखि बिमको शिवरात्रिखोला नजिकैको भीरसम्म गत आर्थिक वर्षसम्म ट्र्याक खोलिएको थियो । उक्त सडक बिम, मराङ, मल्कवाङ र मुदी गाविसका बासिन्दाले प्रयोग गर्छन् । दरवाङदेखि बिमको खारासम्मको सडक उपयोगमा आए पनि खारादेखि शिवरात्रिखोलाको भीरसम्मको सडक प्रयोगमा आउन सकेको छैन । रासस















प्रतिक्रिया