– झलक पाली
डोटी, १० चैत । मदिरा सेवनबाट मातेका व्यक्तिका कारण डोटी जिल्लाको सरस्वतीनगर ७ स्थित ईलाका प्रहरी कार्यालय जोरायलका प्रहरी र स्थानीयबीच झडप भएको छ ।
झडपमा परी प्रहरी हवल्दार रमेश सिंह धामीका साथै जवानद्वय गोकर्ण बोहरा र कृष्णबहादुर चन्दलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरी चौकी नजिकै पसल सञ्चालन गर्दै आएका स्थानीय नरबहादुर कठायतले होलीको अवसरमा मदिरा सेवन गरेर प्रहरी परिसरभित्र पस्न खोज्दा सेन्ट्रीमा बसेका प्रहरीसँग विवाद भएपछि ५०/६० को संख्यामा आएका स्थानीय र प्रहरीबीच झडप भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी आउनेबित्तिकै स्थिति नियन्त्रणका लागि मंगलबार नै बुडरबाट प्रहरी नायव निरीक्षक ललितबहादुर चन्दको नेतृत्वमा थप बल पठाइएको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।
झडपमा संलग्न नरबहादुर कठाएतसहितको समूहलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी चौकी ईञ्चार्ज धनबहादुर नाथ सहित जिल्ला प्रहरी कार्यालयमा झिकाइने बिष्टले बताए ।
घटनाबारे विस्तृत जानकारी आफूलाई नआएको डोटीका प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले जानकारी दिए ।
सोमबार मात्रै होलीको अवसरमा कुनै पनि अप्रिय घटना हुन नदिन र जिल्लाको शान्ति सुरक्षा खल्बलिन नदिने उद्देश्यका जिल्लाभरि सन्देश फैलाउन प्रजिअ आचार्यले पत्रकारसँग छलफल गरी सन्देश सम्प्रेषण गरेका थिए ।












प्रतिक्रिया