२९ आश्विन २०८३, बिहिबार

हेर्दा रहरलाग्दा फलफुलमा छपक्कै विषादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Falful

भक्तपुर, १३ साउन । जिल्लामा दर्ताबिना नै तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी बिक्री गर्ने पसल छ्यापछ्याप्ती खुलेका छन् ।

मानव जीवनमा प्रयोग हुने औषधि बिक्रीका लागि न्यूनतम फार्मेसी उत्तीर्ण गरेको हुनुपर्ने सरकारी नियम भए पनि मानव शरीरलाई प्रत्यक्ष असर पार्ने विषादीको बिक्री भने कुनै नियमबिना नै खुल्लमखुल्ला भएको छ ।

न पसल दर्ता, न त विषादी कसरी प्रयोग गर्ने भन्नेबारेमा कुनै तालिम नै, हचुवाको भरमा जिल्लाका एग्रोभेटदेखि किराना पसलसम्म सहजै विषादीको बिक्री वितरण हुने गरेको पाइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा बढी तरकारी उत्पादन हुने र बढी विषादी खपत हुने बागेश्वरी गाविस रहेको भए पनि यहाँका सबै किसान एग्रोभेटमै गएर विषादी खरिद गर्ने गरेको पाइँदैन ।

स्थानीय किसान रामकृष्ण श्रेष्ठका अनुसार नजिकै किराना पसल सञ्चालकले तरकारीमा प्रयोग हुने विषादी ल्याइदिने भएकाले खरिपाटीसम्म विषादी किन्न जानु परेको छैन । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका किसानले भक्तपुरको बजारसम्म विषादी लिन नआई नजिकैको किराना पसलबाट विषादी लगेर तरकारीमा हाल्ने गरेका छन् ।

चित्तपोल गाविसका अरुणकुमार सिवाकोटीले आफूले लगाएको तरकारीमा किराना पसलबाटै विषादी खरिद गर्ने गरेको बताउनुभयो ।

तरकारीमा व्यापक रूपमा विषादीको प्रयोग भएको पाइए पनि जिल्ला कृषि विकास कार्यालय र अन्य निकायले भने विषादी बिक्री गर्ने एग्रोभेट सेन्टर एवम् किराना पसलको अनुगमन गरेका छैनन् ।

बागेश्वरी गाविसका कृषक मणिराम लामिछानेले कृषि विकास कार्यालयले बजेट सक्ने काम गरे पनि किसानलाई विषादीको प्रयोगबारे जानकारी दिने गरी कार्यक्रम सञ्चालन नगर्दा समस्या आएको बताउनुभयो ।

दर्ता र तालिमसमेत नलिएका व्यक्तिले खुल्लमखुल्ला विषादी बिक्री गर्दा पनि सम्बन्धित निकायले अनुगमनसमेत नगर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अधिकृत सुरेश घिमिरेले कार्यालयले एग्रोभेट सञ्चालकहरूलाई तीन दिनको तालिम दिने गरेको बताउनुभयो । तीनदिने तालिमकै भरमा विषादी बिक्री गरेको स्वीकार्दै उहाँले यसमा सरकारले निश्चित मापदण्ड बनाउनु आवश्यक रहेको बताउनुभयो ।

जिल्लामा कति वटा एग्रोभेट सञ्चालनमा छन्, कति दर्ता छन्, कति दर्ता नै नभई सञ्चालन भइरहेका छन् भन्ने तथ्याङ्कसमेत कृषि विकास कार्यालयसँग छैन ।

सरकारले बिक्री गर्न बन्देज लगाएको १५ वटा विषादीसमेत यहाँका एग्रोभेट पसलमा बिक्री हुने गरेको पाइएको छ ।