रत्ननगर (चितवन), १३ साउन । विश्वमै लोपोन्मुख पाटेबाघको आहारा प्रजाति र बासस्थान संरक्षण गर्न संरक्षणकर्मीले माग गरेका छन् ।
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने सरकारी योजना सफल पार्न पनि बासस्थान र आहारा प्रजाति संरक्षण हुनुपर्ने चितवन निकुञ्जका प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो ।
उहाँले निकुञ्ज र वन्यजन्तु आरक्षमा मात्रै भर नपरी सरकारी वन क्षेत्र र कोरिडोर क्षेत्रको समेत संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
आज विश्व बाघ दिवस पनि हो । चितवनलगायत देशका विभिन्न क्षेत्रमा विविध कार्यक्रम गरी यो दिवससमेत मनाइँदैछ । संरक्षणकर्मीका अनुसार चितवनमा केही प्रतिशत पाटेबाघको बासस्थान घटेको छ । त्यसको साथसाथै चोरी–सिकार नियन्त्रण पनि अर्काे चुनौती रहेको विज्ञहरूले बताएका छन् ।
एक शताब्दीमा विश्वमा एक लाख पाटेबाघ रहेकामा अहिले झरेर तीन हजार २०० पुग्नुले पनि बाघ संरक्षणमा जटिलता रहेको प्रस्ट छ । सन् २०१३ मा गरिएको अनुगमनमा नेपालमा १९८ पाटेबाघ रहेको पाइएको थियो । त्यसमध्ये चितवन निकुञ्जमा मात्रै १२० बाघ रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
चितवन निकुञ्जको चौडाइ छोटो रहेकाले वन्यजन्तुबाहिर निस्कन सक्ने भन्दै उहाँले अन्य वन क्षेत्रको पनि संरक्षण गरी बाघको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।
सन् १९९८ देखि अहिलेसम्म विश्वमा ४० प्रतिशत बाघको बासस्थान नाश भइसकेको जानकारहरू बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रमा बाघको सङ्ख्या बढी देखिएकाले ती क्षेत्रको संरक्षण गर्दै बाघको बासस्थान संरक्षणमा निकुञ्ज सक्रिय भएको पौडेलको भनाइ छ ।
दुई वर्षअघि नेपाल सरकारले रु ६ करोड रकम विनियोजन गरेर बाघ संरक्षणका कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।
















प्रतिक्रिया