१ कार्तिक २०८३, आइतबार

अपि नाम्पा संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटक बढे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourist-visit-nepal

– नरेन्द्रसिह कार्की
दार्चुला, ९ चैत । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा अपि नाम्पा संरक्षण क्षेत्रमा घुम्न आउने विदेशी पर्यटक बढेका छन् ।

अपि नाम्पा संरक्षण क्षेत्र र जिल्लाको पर्यटकीय क्षेत्रको अझै प्रचार प्रसार गर्न सके विदेशीय पर्यटक बढ्ने अपि नाम्पा संरक्षण क्षेत्र दार्चुलाले जनाएको छ ।

चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ११ जना पर्यटकले अपि नाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरिसकेको अपि नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । गत वर्ष ९ जना विदेशी पर्यटकले संरक्षण क्षेत्र घुमेका थिए ।

दार्चुलाका २१ वटा गाविस समेटेर अपि नाम्पा संरक्षण क्षेत्र गठन भएको छ । पर्यटकलाई घुमाउने गाइड सहयोगी अभावमा धेरै पर्यटक संरक्षण क्षेत्रमा आउन नसकेको सहायक संरक्षण अधिकृत घिमिरेले बताउनुभयो । बाह्य पर्यटकलाई यहाँको भाषा रहनसहन ठाउँको बारेमा जानकारी दिने सहयोगी नभएको कारण समस्या छ ।

अपि नाम्पा संरक्षण भित्र अपि नाम्पा, कालीढुंगाताल, धर्मीगुफा, मार्कण्डेय गुफा, सिद्धटोपी, ब्रह्मदह, लगायतका प्रसिद्ध ठाउँहरु रहेका छन् । यस्तै यस क्षेत्रका तीन गाविसमा बसोबास गर्ने सौका समुदायको संस्कृति, क्षेत्तिली संस्कृति लगायतको बारेमा प्रचार प्रसार गर्नु जरुरी छ ।

जिल्लामा रहेका होटल व्यवसायीहरुले पर्यटकको लागि बस्ने उचित होटलहरुको प्रचार प्रसार तथा उनीहरुलाई बस्न सन्तुष्टि हुने ग्यारेन्टी गर्न सके पर्यटक अझै बृद्धि हुने सहायक संरक्षण अधिकृत घिमिरे बताउँछन् ।

वन पैदावारको राजस्व एक करोड बढी
अपि नाम्पा संरक्षण क्षेत्रले वन पैदावर विक्रीबाट एक करोड बढि राजस्व उठाएको छ । यस आर्थिक वर्षको आठ महिनामा संरक्षण क्षेत्रले वन पैदावर शुल्कबाट १ करोड ३ लाख १७ हजार ७३ रुपैयाँ उठाएको हो ।

यो रकम अहिलेसम्म कै बढि हो । संरक्षण क्षेत्रले यार्सागुम्बा, सतुवा, दालचिनी लगायतका जडिबुडी विक्रीबाट सो राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका खरिदा हरीश रावलले बताउनुभयो ।

नेपाल सरकारले यार्सागुम्बा लगायत सबै जडिबुडिमा राजस्व बढाएपछि रकम बढेको हो । सरकारले गत असोजमा सूचना प्रकाशित गरी राजस्व रकम बढाएको हो । जसअनुसार यार्सागुम्बाको राजस्व प्रतिकिलोग्राम १० हजार रुपैयाँबाट बढाएर २५ हजार रुपैयाँ पुर्याएको छ । यार्सागुम्बाको राजस्व बढेको कारण वन पैदावारको राजस्व बढि देखिएको हो ।

यस्तै संरक्षण क्षेत्रले आठ महिनाको अवधिमा १ करोड ४ लाख ७९ हजार १ सय ५८ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले दण्ड जरिवानाबाट १० हजार, प्रशासनिक दण्ड जरिवाना बाफत १ हजार ६० रुपैया, विदेशी पदयात्रु दस्तुरबाफत ३३ हजार ९ सय, बेरुजू १० हजार १ सय २५रुपैयाँ र टेण्डर विक्रीबाट १ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।