उदयपुर, ९ चैत । अति विपन्न जिल्लाका चार दलित घरपरिवारलाई जीविकोपार्जनमा मद्धत पुर्याउन एक गैरसरकारी संस्थाले सिलाई मेसिन उपलब्ध गराएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी समाज सेवी समुहले अक्सफामको सहयोगमा जीविकोपार्जन तथा सशक्तिकरण कार्यक्रमअन्र्तगत सिलाई मेसिन हस्तान्तरण गरेको हो । मेसिन पाउनेमा बेल्टारबसाहा नगरपालिकाका मन्जु सदा, सुन्दरपुरका श्यामकुमारी सदा, जोगिदहका रामपरी सदा र हडियाकी हिरा सदा रहेकी छिन् ।
उनीहरुलाई तीन महिने शिपमुलक तालिम दिई संस्थाका अध्यक्ष शान्तालाल मुल्मीले सोमबार कार्यक्रमको बार्षिक समिक्षामा मेसिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संस्थाले एक बर्षभित्रमा गरेका दुई सय १६ वटा क्रियाकलापको समिक्षा गरिएको थियो ।
संस्थाले जिल्लाका ७ गाबिस चौदण्डी, कटुन्जेववला, सिद्धिपुर, साउने, हडिया, जोगिदह, सुन्दरपुर र त्रियुगा नगरपालिकाको वडानं ४ र ५ मा संकटासन्न समुदायको उत्थानशिलता र सम्पन्नताका लागि जीविकोपार्जन तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक बिनोद कार्कीले बताए ।
यी गाबिसमा संस्थाले महिला तथा समुदाय सशक्तिकरण, संस्थागत बिकास, संकटामुखी न्युनिकरण, नीतिगत प्रभावका लागि जनवकालती कार्य, अनुगमन मुल्यांकन, उत्थानशिलता, जीविकोपार्जन, खाद्य र आम्दानीमा सुधार कार्यक्रम सञ्चालन गर्दै आएको कार्कीको भनाई छ ।
कार्यक्रमअन्र्तगत सम्बन्धित गाबिसमा व्यवस्थापन समिति, सहकारी, कृषक समुह, युवा समुह, समुदाय स्तरीय विपद्व्यवस्थापन समिति, गाबिस स्तरीय कृषक सहायकता केन्द्र स्थापना गरी ५ हजार २ सय ३२ जनालाई दुई सय ५५ वटा समुहमा आवद्ध गराई क्रियाकलाप गर्दै आएको कार्यक्रममा जानकारी दिईयो ।
संस्थाले कार्यक्षेत्रका गाबिसमा वगरमा र खेतीयोग्य जमिनमा अलग अलग गरी तरकारी खेती, सानाकिसान आकर्षित कार्यक्रम अन्र्तगत सघन धान खेती प्रणाली, , खुल्ला दिसा मुक्त अभियान, खानेपानी तथा सरसफाइ कार्यक्रम, प्राथामिक उपचार केन्द्र स्थापना, कृषक सहायता केन्द्र स्थापना, प्रकोप विपत्ती सहयोग कार्यक्रम, सहकारी, ठेला वितरण लगायतका कार्यक्रम गर्दै आएको अध्यक्ष शान्तालाल मुल्मीले बताए ।
कार्यक्रममा संयोजक कार्कीले कार्यक्षेत्रका लाभान्वित परिवारका ४० प्रतिशत सदस्यले व्यवसायीक र ९० प्रतिशतले घर्यासी प्रयोजनका लागि तरकारी खेती गर्दै आएको र प्रति परिवारले बार्षिक १ लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएको बताए ।
उनले कार्यक्षेत्रका ६७ जना साना कृषकले यसअघि लगाउँदै आएको परम्परागत धान खेतीलाई परिवर्तन गरी सघन धान खेती सुरु गरेको जसबाट प्रतिकुल मौसमका बाबजुद प्रतिकठ्ठा ६ देखि १० मनसम्म उत्पादन गरेको बताए ।
११ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको यो कार्यक्रमबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा १० करोड खर्च भएको जसबाट ६ हजार १ सय ४८ घरधुरी खानेपानीबाट लाभान्वित भएको अध्यक्ष मुल्मीले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुल्मीले खाद्य सुरक्षा मात्र नभई खाद्य सार्वभौ हुुन पर्नेमा जोड दिए । उनले कृषकले उत्पादन गरेको सामान आफैले मुल्य तोक्न पाउनु पर्ने बताए । कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख पवन गिरी र पशु सेवा कार्यालयका प्रमुख मो. मुस्ताफले आफ्नो कार्यालयबाट हुने गतिबिधिमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।












प्रतिक्रिया