१ कार्तिक २०८३, आइतबार

कर्मचारीको मिलोमतोमा भन्सार छली हुने गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biratnagar-vansar-bhansar

इटहरी, १३ साउन । राजस्व संकलनको जिम्मेवारी पाएको भन्सार कार्यालयमा काम गर्ने कर्मचारीकै मिलोमतोमा भन्सार छली हुने गरेको खुलासा भएको छ ।

केही दिनअघि विराटनगर भन्सार भएर विराटनगरतिर प्रवेश गरेको को१ख ३३६२ र ना१ ख ९७७३ नम्बरको ट्रकमा भारतबाट आयात गरिएको स्टेसनरी तथा खेलकुदमा सामग्री र भेटेरिनरी औषधि आयात गर्दा कम भन्सार मूल्याङ्कन गरेर छुट गरेको फेला परेपछि ती सामान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भन्सार कार्यालय विराटनगरका कर अधिकृत शान्तिराम निरौला र भन्सार एजेन्ट किशोर शाहीको संलग्नतामा झन्डै ४० लाख मूल्यका सामान ल्याउने क्रममा प्रज्ञापनपत्रमा उल्लेख परिणामभन्दा बढी सामान फेला परेको छ ।

शान्ति स्टेसनरी, सीता सज्जन ट्रेडिङ र सिंह एग्रोभेट, बादल कनौडियाको नाममा आएको अवस्थामा फेला परेको त्यो सामान राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाई कार्यालय इटहरीमा ल्याई जाँच गर्दा परिमाण धेरै फेला परेको थियो ।

प्रज्ञापनपत्रमा उल्लिखित परिमाणबाहेकका सबै सामान मूल्याङ्कन गरेर जफत गरिने त्यति नै बिगो बराबर कारबाही तोकिने राजस्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाई कार्यालयले जनाएको छ ।

भन्सारले छाडेको स्टेसनरी सामानमा पेन्सिल, जमेट्री बक्स, क्रिकेट ब्याट, सार्पनर, क्रिकेट प्याडलगायतका तथा भेटेरिनरीका २७ प्रकारका औषधि रहेको अनुसन्धानमा सक्रिय अनुसन्धान अधिकृतले जानकारी दिएका छन् ।

प्रमुख अनुसन्धान अधिकृत योगराज पौडेलले चाँडै नै अनुसन्धान सकिने र कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै भन्सार छलेर सामान आयात निर्यात गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।