३० आश्विन २०८३, शुक्रबार

खण्डहर बन्दै विशेष आर्थिक क्षेत्र, ८० करोड लागतको संरचना अलपत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sez-0

– नरेश केसी
भैरहवा, ७ चैत । गतवर्ष बडो तामझामका साथ उद्घाटन भएको भैरहवाको विशेष आर्थिक क्षेत्र अहिले सम्म सञ्चालनमा आउन सकेको छैन ।

तत्कालिन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश बस्नेतले संयुक्त रुपमा सेजको उद्घाटन गरेका थिए । बडो तामझाम र दलबलका साथ भाषण कलाका माहिर मन्त्रीद्वयले सेजको उद्घाटन गर्दा तत्कालिन समयमा अबको तीन महिनामा सेज सन्चालन हुने बताएका थिए । मन्त्रीद्वयको भाषण सुनेर मन्चमा संगै भएका रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सभासदहरु, उद्योगी व्यवसायीका नेता तथा सरोकारवाला महानुभावले तालीको गडगडाहटले सेज सन्चालनप्रति ऐक्यबद्धता जाहेर गरेका थिए । तर विडम्बनाको कुरा तामझामका साथ मन्त्रीद्वयले उद्घाटन गरेको सेज र सेजको प्रशासनिक भवनमा टाँगिएको ताम्रपत्रले अहिले त्यतिबेलाको भाषण र प्रतिबद्धतालाई गिज्याईरहेको देखिन्छ ।

रुपन्देहीको बगाह गाविसको ५२ विगाह क्षेत्रफलमा फैलिएको सेजमा ६३ वटा प्लट निर्माण गरिएको छ । १७ सय मिटर स्क्वायर देखी २४ सय मिटर स्क्वायर सम्म फैलिएका ती प्लट त्यत्तिकै थन्किएका छन् । सुविधा सम्पन्न प्रशासनिक भवन, सर्भिस भवन, सडक र वाटर ट्रिट प्लान्टमा गरी राज्यको अहिले सम्म ८० करोड भन्दा बढी लगानी भईसकेको छ । तर सेज अझै सन्चालन हुने छाँटकाँट देखिँदैन ।

सेजका ईन्जिनियर लक्ष्मण भट्टराईका अनुसार सेजको प्राविधिक काम ९० प्रतिशत भन्दा बढी भैसकेको तर कानुनको जटिलताको कारण सन्चालन हुन सकेको छैन । इन्जिजियर भट्टराईले लुम्बिनीखबरसँग भने “०५८ सालमा विशेष आर्थिक क्षेत्र आयोजना हँुदैं, ०६९ सालमा विशेष आर्थिक क्षेत्र भएको सेजको कार्यविधी मार्फत सन्चालन गर्ने तयारी भएता पनि त्यो सफल नभएपछि अहिले सन्चालनमा ढिलाई भएको हो ।”

sez 2 (1)

सेजको ऐन नै पारित नहुदैं करौडौंको लगानी लगाएर भवन र अन्य भौतिक संरचना तयार गरी हतार हतारमा उद्घाटन गरेका मन्त्रीहरुले तत्कालिन समयमा कार्यविधी मार्फत नै तीन महिनामा नै सेज सन्चालन हुन्छ भनेता पनि अहिले सम्म हुन सकेको छैन । सेजको कार्यविधी मार्फत व्यवसायी दर्ता आह्वान गरिएता पनि भाडादर महँगो भएको भन्दै व्यवसायीहरुले त्यत्ति इच्छा व्यक्त गरेनन् । अहिले सेजको कार्यविधी संशोधन र ऐन मन्त्रीपरिषदमा पुगेको बुझिएको छ । हेरौ कहिले सम्म पारित भएर आउंछ ।

सेजको भाडादर पहिले १५० रुपैया प्रति वर्ग मिटर थियो । अहिले कार्यविधी संशोधन मार्फत जग्गाको भाडालाई २० देखि २५ रुपैयाँ भित्र रहने गरी उद्योग, अर्थ हुँदै अहिले मन्त्रीपरिषद्मा पठाईएको र सदर भए पछी पुनः आशय पत्र माग गरीन भट्टराईले जनाए । सेज सञ्चालनका का लागी कम्तिमा दैनिक २५ मेघावाट बिद्युत आबश्यक पर्दछ । त्यसको व्यवस्थापनको लागि धकधईमा ६० केभिएको सब स्टेनश निर्माण भइरहेको छ ।

sez 2 (2)

यता व्यवसायीहरु सेजको संरचना तयार भएर पनि संचालनमा नआउनु दुखःद भएको बताउंछन् । उद्योग व्यापार संगठन रुपन्देहीका निर्वतमान अध्यक्ष खिम बहादुर खत्रीले राज्यको नालयकीपनाका कारण करौडौंको लगानीमा निर्मित भौतिक संरचना खण्डहर बन्न थालेको भन्दै चिन्ता व्यक्त गरे । खत्रीले भने “राज्यले जग्गाको मूल्य भन्दा बढी भाडा दर कायम गरेर प्लट भाडामा दिन खोज्नु अनि सन्चालनमा ल्याउन आनाकानी गर्नु अत्यन्तै गलत प्रवृति हो ।”

sez 2 (3)

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले पनि भैरहवाको विशेष आर्थिक क्षेत्र सन्चालनमा आउन नसक्नुको मुख्य कारक राज्य नै भएको बताए । अध्यक्ष शर्माले भने “ राज्यको अस्पष्ट कानुनले निजी क्षेत्रले जसरी दुखः झेलिरहेको छ त्यसरी नै सेज पनि अन्यौलग्रस्त भएको छ । हामी व्यवसायीहरु सेज तत्काल सन्चालनमा आउनुपर्दछ भन्ने मान्यतासाथ हरेक ठाउँमा आवाज उठाईरहेका छौं ।” सरकारले कानुन बनाउन नसक्नु, विद्युतको पुर्वाधार बनाउन नसक्नु र जग्गाको भाडादर महंगो हुँदा सेज सन्चालनमा नआएको शर्माको ठम्याई छ ।

sez 1

हामीले उद्योग स्थापना गर्छाँै भन्दा पनि नपाएको भन्दै उद्योगी एवं सिद्धार्थ गु्रपका प्रबन्ध निर्देशक राजेश अग्रवालले प्रश्न सोझ्याए, “२०५८ सालमा सेजको स्थापना भएपछि उद्योग स्थापना गर्न पाउँ भनेर निबेदन हाल्ने पहिलो व्यक्ति मै हँु तर अहिले शुरु शुरुमा सेजमा उद्योग सन्चालन गर्ने इच्छा शक्ति अहिले सबै हराईसक्न थाल्यो। हामी उद्योगीले लगानी गर्ने वातावरण कसले बनाइदिने ?”

नेपालमा भैरहवा लगायत १४ वटा ठाउँमा सरकारले विशेष आर्थिक क्षेत्र सन्चालन गर्दैछ । सेजमा २०६० सालदेखी २ जना इन्जिनीयर, २ जना सुपरभाईजर, १ जना कार्यालय सहयोगी र २ जना गार्ड गरी ७ जनाको दरबन्दी रहँदै आएको सुपरभाईजर प्रविन गुरुंगले जनाए ।

कर्मचारीहरुको मासिक तलब र सुविधागरी मासिक लाखौं खर्च भइरहेता पनि उनीहरु भने काम नपाएर दिन व्यतित गर्न मुश्किल भईरहेको देखिन्छन् । उद्घाटन ताका अत्यन्तै आकर्षक र सफा हराभरा देखिएको सेज अहिले उपयोगहीन हुदां खण्डहर र दुषित तथा प्लटहरुमा जंगल बनिरहेको छ ।