१ कार्तिक २०८३, आइतबार

वीर अस्पतालमा चिकित्सकहरुको हड्ताल, आकस्मिक बाहेकका सेवा ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospital

काठमाडौँ, १२ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आवासीय चिकित्सक सङ्घले वीर अस्पताललाई आज ‘बिरामी अस्पताल’ घोषणा गर्दै आफ्नो आन्दोलन जारी राखेका छन् ।

विसं २०६३ देखि न्याम्सअन्तर्गत जेठो र पुरानो वीर अस्पताल सञ्चालन हुँदै आएको छ । आवासीय चिकित्सकहरुले विभिन्न माग राखी आइतबार देखि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा प्रभावित हुने गरी आन्दोलन थालेका हुन् ।

अस्तपालमा बिग्रिएको सिटी स्क्यान, एमआरआई, एक्सरे र भिडियो मेसिन मर्मत गर्नुपर्ने, न्याम्सको कुलपति, रजिष्ट्रार र रेक्टरको नियुक्ति हुनुपर्ने, दीक्षान्त समारोहको मिति तय हुनुपर्ने लगायतका माग ती चिकित्सकको छ ।

सङ्घका अध्यक्ष डा. मंगल रावलले आफ्नो आन्दोलन बिरामीका असुविधाका लागि होइन, वीर अस्पतालको सुधारका लागि हो भन्नुभयो । विगत चार महिनादेखि न्याम्समा पदाधिकारीहरु रिक्त रहेको छ भने विगत दश वर्षदेखि दीक्षान्त समारोह हुन सकेको छैन । अत्यावश्यक उपकरण बिग्रिएका कारण बिरामी अन्यत्र गई सेवा लिन बाध्य छन् । अध्ययन गर्ने चिकित्सकहरुलाई थप अध्ययनमा असुविधा परिरहेको सङ्घले जनाएको छ ।

“हामी वीर अस्पतालको सुधार गर्न चाहन्छाँै, मागबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मेडिकल काउन्सिललगायत सम्बन्धित निकायमा ध्यानकर्षण गराउँदा सुनुवाइ नभएका कारण आन्दोलनमा उत्रिएका हौँ,” सङ्घका अध्यक्ष रावलले भन्नुभयो ।

वीर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा लिन दैनिक एक हजार ५०० भन्दा बढी बिरामी जाने गर्दछन् । चिकित्सकको आन्दोलनका कारण सेवाग्राही मर्कामा हुनुपरेका छन् ।