१ कार्तिक २०८३, आइतबार

मजदुरबाट मालिक बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ५ चैत । जिल्लाको तामाखानीका डिल्ली मगर पर्यटन भरियाका रुपमा करिब डेढ दशकअघि खुम्बु क्षेत्र पुग्नुभयो । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायत मजदुरी गर्नुभएका शेर्पा अहिले स्याङ्बोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुनुभएको छ ।

स्याङ्बोचे विमानस्थलमा हेलिकप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट करोडपति बन्नुभएको छ । खुम्बुमा अन्यत्रबाट आएकाहरुले जग्गा किन्न पाइन्न । तर मगरले स्थानीय युवतीसँग विवाह गरेपछि त्यहाँ घडेरी किन्न सम्भव भएको हो ।

त्यस्तै धादिङका दिल थापामगर २० वर्षअघि होटल कामदारका रुपमा नाम्चे आउनुभएको हो । करिब नौ वर्ष त्यसरी काम गरेपछि उहाँ आफैले होटल चलाउन थाल्नुभयो । उहाँ यतिखेर स्याङ्बोचेस्थित खुम्बु माउन्टेन भ्यू लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक हुनुहुन्छ ।

काभ्रे तिमालका राम लामा ११ वर्षअघि खुम्जुङ–६ देबुचेमा काम गर्न आउनुभएको थियो । चार वर्षयता उहाँ स्योमारेमा ‘हिमालयन लन्च स्पट’ चलाइरहनुभएको छ । उहाँले मनग्य आम्दानी गरिरहनुभएको छ ।

यी तीनजना प्रतिनिधि पात्रमात्र हुन् । खुम्बु क्षेत्रमा कामदारहुँदै मालिक वनेका धेरै उदाहरण छन् । भाडामा घरजग्गा लिएर होटल चलाउनेको सङ्ख्या अत्यधिक रहेको छ । चौँरीखर्क, नाम्चे र खुम्जुङ गाविसलाई खुम्बु क्षेत्र भनिन्छ । यस क्षेत्रमा कम्तीमा हजारभन्दा बढी होटल छन् ।

लुक्ला, चौँरीखर्क घाट, ठाडो कोसी, फाक्दिङ, राङ्दिङ, टोकटोक, बेंकर, मोन्जो, जोरसल्ले, नाम्चे, खुम्जुङ, स्याङ्बोचे, पाङ्बोचे, स्योमारे, दिङ्बोचे, फेरिचे, थुक्ला, लबुचेहुँदै गोरक्सेपसम्म होटलै होटल छन् । होटल व्यवसाय सुरुवात गर्ने शेर्पा समुदाय भए पनि विस्तारै उनीहरू राजधानी र युरोपतिर जान थालेपछि जिल्लाको अन्य गाविस तथा बाहिरी जिल्लाबाट आउने कामदार आफैँ मालिक बन्न थालेका हुन् ।

“पर्यटकीय क्षेत्र भएकाले होटल व्यवसाय गर्न चाहनेका लागि खुम्बु क्षेत्र राम्रो सम्भावना बोकेको ठाउँ हो, यहाँ सामान्य तलबमा काम गर्न आउने कामदार पनि करोडपति बन्न थालेका छन्” खुम्जुङका दोर्जी शेर्पाले भन्नुभयो । रासस