
पोखरा, ४ चैत । कास्कीमा एमाओवादीका पूर्व लडाकुहरुले उपभोक्ताको ग्यास लुटिदिएका छन् ।
द्वन्द्वकालको झल्को दिँदै उनीहरुले उपभोक्तालाई वितरण गर्न बुधबार दिउँसो बाटुलेचौरतर्फ हिडेको गृहलक्ष्मी ग्यास कम्पनीको ग्यास बोकेको गाडी लुटेका हुन् ।
यद्यपी उनीहरुको पहिचान खुल्न सकेको छैन् । घटना भएको एक दिन वितिसक्दा पनि प्रहरीले गाडी फिर्ता गराउन कुनै कदम नचालेको गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालकहरुले बताएका छन् ।
सुरक्षाका कारण नाम खुलाउन नचाहने एक सञ्चालक भन्छन्- ‘बुधबार दिउँसो हाम्रो गाडी ग्यास बोकेर उपभोक्तलाई बाड्न बाटुले चौरतर्फ गइरहेको थियो । एक्कासी अपरिचित समूहले गाडी नियन्त्रणमा लिएर ड्राइभरलाई त्यही राख्न खोजेका थिए । तर, ड्राइभर र हेल्फरहरुले भागेर ज्यान जोगाए । यो समूहले गाडी नियन्त्रणमा लिएर पिएन क्याम्पसभित्र लगी मनोमानी गरे ।’
यो कुरा बगरको प्रहरी कार्यालयका इन्सपेक्टरलाई जानकारी गराएको भन्दै उनले अगाडि भने– ‘त्यहाँबाट माथिल्लो निकायमा पनि जानकारी गरायौ । तर, प्रशासनले हिजो नियन्त्रणमा लिइएको गाडी आज पनि निकाल्न सकेको छैनन् । न त दोषीलाई कारवाही गरेको छ ।’
स्रोतका अनुसार यो घटनामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व लडाकुहरु संलग्न छन् । गृहमन्त्री पनि आफ्नै पार्टीको भएको भन्दै उनीहरुले पावर देखाई जे पनि गर्न सक्ने नाराबाजी समेत गरेका छन् ।
नाकाबन्दीको मारमा परेका उपभोक्तालाई ग्यास वितरण गर्न लैजादा उल्टै गाडी नै लुटिएपछि गृहलक्ष्मी ग्यास कम्पनीले दुःख व्यक्त गरेको छ । साथै काम गर्न असुरक्षा भएको र सुरक्षित वातावरणको ग्यारेन्टी नभएसम्म काममा नफर्किने त्यहाँका कर्मचारीले घोषणा गरेका छन् ।
स्रोतका अनुसार लुटिएको ग्यासको गाडीलाई जंगलभित्र राखिएको छ । ग्यास बोकेको गाडी लुटिनुको कारण खुल्न सकेको छैन् । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया