३० आश्विन २०८३, शुक्रबार

लिम्बुवानसँगको वार्ता सकारात्मक, दुईबुँदे सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Federal_Limbuwan_State_Council_flag

इलाम, १२ साउन । संविधानसभा निर्वाचन बहिष्कार गरी आन्दोलनमा उत्रिएको मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद् (कुमार लिङदेन) र संवैधानिक राजनीतिक संवाद तथा सहमतिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिबीच दुईबुँदे सहमति भएको छ ।

गएराति अबेरसम्म चलेको वार्तामा परिषद् र उपसमितिबीच भएको वार्तामा संविधानसभाको निर्वाचन ताका पक्राउ परी ताप्लेजुङ कारागारमा रहेका रक्की थेवेलगायतका कार्यकर्ता रिहाइ गर्न र उनीहरूमाथि लगाइएका मुद्दा फिर्ता लिन उपसमितिले सरकारसँग पहल गर्ने र संविधान निर्माणको कार्यप्रति सकारात्मक प्रतिबद्धता व्यक्त गर्दै वार्ता प्रक्रिया अघि बढाउन विश्वासको वातावरण तय गर्ने सहमति भएको हो ।

“लिम्बुवान्सँग भएको वार्ता निक्कै उत्साह र उपलब्धिमूलक भयो”–वार्ता समिति संयोजक तथा सभासद् आनन्दप्रसाद ढुङ्गानाले भन्नुभयो–“इलाममा भएको वार्ता निक्कै उपलब्धिमूलक र सकारात्मक रूपमा अघि बढेको छ ।”

प्रारम्भिक वार्ता उपसमितिले आइतबार किराँत जनवादी वर्कर्स पार्टी (सुमन वान्तवा समूह), जातीय मुक्ति मोर्चा नेपाल, स्टेट लिम्बुवान फोर्स र मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद्सँग वार्ता सम्पन्न गरेको जनाएको छ । वार्ता बिहान १० बजेदेखि इलामको चियाबारी कटेजमा सुरु भएको हो ।

“संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता होस् र संविधान निर्माणपछि आउने अन्तरविरोध कम होस् भन्ने उद्देश्यले गत संविधानसभा निर्वाचनमा भाग लिएका र नलिएका तथा सशस्त्र गतिविधि गरिरहेका समूहसँग वार्ता सुरु गरिएको हो”– सभासद् भीष्मराज आङदेम्वेले भन्नुभयो ।

उपसमितिले उनीहरूसँग छुट्टाछुट्टै वार्ता गरेको थियो । सरकारी वार्ताटोलीमा उपसमिति संयोजक ढुङ्गाना, सभासद् शक्ति बस्नेत, सुरेन्द्र पाण्डे, शर्वेन्द्रनाथ शुक्ला, भीष्मराज आङदेम्वे, अशोक राई, आरके खम्बु, रबिन कोइराला, गृह र शान्ति मन्त्रालयका सहसचिव सहभागी हुनुहुन्छ ।

वार्तामा पूर्वमा शान्तिपूर्ण तथा सशस्त्र गतिविधि गरिरहेका आठवटा दल र समूह सहभागी हुने वार्ताटोली सदस्य तथा सभासद् रबिन कोइरालाले जानकारी दिनुभयो । आज बिहान ९ बजेदेखि चियाबारी कटेजमा दोस्रो दिनको वार्ता सुरु भएको उपसमितिले जानकारी दिएको छ ।