काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य प्रकाशमान सिंहले १३औँ महाधिवेशनमा पदाधिकारीमा पराजित अनुहारलाई मनोनीत गर्दा त्यसले पार्टीमा नराम्रो परम्पराको थालनी हुनेभन्दै चिन्ता जनाउनु भएको छ ।
काठमाडौं कांग्रेसले केन्द्रीय कार्यसमितिमा निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरूको स्वागतमा आज जमलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सिंहले पदाधिकारीमा पराजित भएका सबैलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा राम्रो नहुने जिकिर गर्नुभयो ।
‘पदाधिकारीमा पराजित भएका सबैलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नु उचित हुँदैन । यसले गलत नजिर बस्छ’, उहाँले भन्नुभयो, ‘पदाधिकारीमा हारेकालाई मनोनीत गर्ने थालनी गरियो भने अर्को महाधिवेशनमा धेरै पदाधिकारी उम्मेदवार बन्ने र त्यसले समस्या सृजना हुन सक्छ । यस विषयमा नवनिर्वाचित सभापतिले ध्यान दिनुपर्छ ।’
नेता सिंहले पराजितहरू धेरैलाई नियुक्ति गर्दा त्यसले पार्टीभित्र गुटउपगुट धेरै भइ काम गर्न समस्या हुनेतर्फ पनि संकेत गर्नुभएको थियो ।
नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आजै केन्द्रीय कार्यसमितिमा पराजित नेताहरूलाई मनोनीत गर्ने कुरा आइरहेका बेला कांग्रेसका प्रभावशाली नेता सिंहले पदाधिकारीमा पराजित नेताहरूलाई मनोनीत नगर्न भन्नुभएको हो । सिंहले यसो भनिरहँदा कार्यक्रममा सहभागी देउवाले सुनिरहनु भएको थियो ।
कांग्रेसलाई संस्थागत रुपमा अगाडि बढाउन उहाँको सुझाव छ । ‘कांग्रेसलाई व्यवहारिक रुपमा अगाडि बढाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘अब गुटउपगुटको समस्या अन्त्य गर्नुपर्छ । पार्टीमा सबैलाई मिलाएर लैजानुपर्छ । संस्थागत रुपमा जानुपर्छ ।’ (तस्बिर सौजन्य यूपी लामिछाने)












प्रतिक्रिया