काठमाडौं, १२ साउन । आफै औषधिको भारी बोकेर स्वास्थ्यकर्मीको टोलीसहित बिरामीको खोजी गर्दै गाउँ गाउँ डुल्ने चिकित्सक डा सुमन कर्माचार्य यसबर्षको उत्कृष्ट चिकित्सक हुनुभएको छ ।
आइतबार राजधानीमा यस वर्षको स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड २०७१ बाट स्वास्थ्य मन्त्री खगराज अधिकारी र स्वास्थ्य खबरपत्रिका प्रकाशक एवं प्रधान सम्पादक अनिल न्यौपानेले कर्माचार्यलाई सम्मान गर्नुभएको हो ।
बिरामीको खोजीमा आफैं औषधिको भारी बोकेर स्वास्थ्यकर्मीको टिमसहित माइकिङ गर्दै उहाँ गाउँ गाउँ डुल्नु भएको थियो । रामेछापका प्रत्येक गाविसमा पुगेर बिरामीको सेवामा जुट्दै आएका कर्माचार्यले अहिलेसम्म ३ लाखभन्दा बढी बिरामीलाई उपचार गरिसक्नुभएको छ ।
चौथो हेल्थ अवार्ड २०७१ बाट उत्कृष्ट जनस्वास्थ्यकर्मी मुगु जनस्वास्थ्य कार्यालयमा कार्यरत रोशनलाल चौधरी, उत्कृष्ट नर्स बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकीमा कार्यरत लक्ष्मी भट्ट, उत्कृष्ट महिला स्वास्थ्य कार्यकर्ता सिरहाको बर्छावा २ की पवनदेवी साफी घोषित भएका छन्। यसैगरी, उत्कृष्ट प्यारामेडिक शालिकराम पहारी, उत्कृष्ट सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी र उत्कृष्ट स्वास्थ्य पत्रकार नेपाल समाचारपत्रकी भगवती तिमिल्सिना घोषित भए ।
उत्कृष्टहरुलाई पुरस्कार वितरण गर्दै मन्त्री अधिकारीले सबैले यसैगरी उत्कृष्ट कार्य गर्न सके नेपालको स्वास्थ्य क्षेत्रले प्रगति गर्न सक्ने बताउनुभयो ।
















प्रतिक्रिया