२४ कार्तिक २०८३, मंगलबार

जे पनि हुनसक्छ भन्ने चेतावनी दिने भारतीय विदेश सचिव काठमाडौंमा के गर्दैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

S-jay-shankarकाठमाडौं, २ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशसचिव एस जयशंकरलाई नेता भेट्न भ्याइनभ्याई भएको छ ।

नयाँदिल्लीबाट काठमाडौं आएलगत्तै उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । संविधानसभाले संविधान जारी गर्नु केही दिनअघि मात्र काठमाडौं आएर जयशंकरले तत्काल नयाँ संविधान घोषणा नरोके जे पनि हुन सक्ने चेतावनी दिएपछि विवादमा आएका थिए । उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी शैलीमै संविधान घोषणा गर्ने मिति पर सार्न दबाब दिएका थिए ।

उनै जयशंकर अहिले पुनः काठमाडौंमा छन् । पोखरामा चलिरहेको सार्कका विदेश मन्त्रीस्तरको बैठकमा सहभागी जनाउन उनी नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा, नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई र मधेसी मोर्चाका नेताहरुसँग भेटवार्ता गरेका छन् । बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा भारतीय विदेश सचिव जयशंकरले मधेसी मोर्चाका नेताहरुसँग सामूहिक छलफल गरेका छन् । जयशंकरलाई भेट्न मधेसी दलका नेताहरु होटलमै पुगेका थिए । होटलमा पुग्नेहरुमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा थिए ।

भेटवार्तामा जयशंकरले मधेस आन्दोलन र मधेसी मोर्चाको पछिल्ला गतिविधिबारे जिज्ञासा राखेका थिए । त्यस क्रममा मोर्चाका नेताहरुले सरकार र ठूला दलका नेताहरुले आन्दोलनका राजनीतिक मुद्दा सम्बोधन नगरेको भन्दै आफूहरुले चैत मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएको जानकारी गराएका थिए । जवाफमा जयशंकरले भारतले मधेसको समस्या चाँडै समाधान होस् भन्ने चाहेको बताएका थिए ।

त्यसलगत्तै उनी नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । त्यहाँ उनले कांग्रेस सभापतिमा निर्वाचित भएका देउवालाई बधाई दिनुका साथै मधेस आन्दोलनको समस्या समाधान गर्न सुझाव दिएको बताइएको छ ।
त्यसैगरी विदेशसचिव जयशंकरले दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा जयशंकरले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ पार्नेलगायतका विषयमा छलफल गरेको बताइएको छ । उनले मधेसी मोर्चासँग पनि आफूले छलफल गरेको र उनीहरु अझै असन्तुष्ट रहेको पाएको भन्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउन भइरहेका प्रयासबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए ।

विदेशसचिव जयशंकरले नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन् । त्यहाँ पनि उनले मधेस आन्दोलन र अन्य राजनीतिक विषयमा छलफल गरेका थिए । त्यस क्रममा डाक्टर भट्टराईले विकास निर्माणका विषयलाई प्राथमिकता दिन आग्रह गरेको बताइएको छ ।