काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीसँगको वार्ता सहज रुपमा अगाडि बढिरहेका बेला कानुनमन्त्री अग्नि खरेलले पटक पटक कानुनका कुरा उठाएर वार्ता विथोल्न खोजेपछि महन्थ ठाकुर जंगिएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागप्रति आफू अत्यन्तै सकारात्मक रहेको भन्दै मोर्चाका नेताहरूलाई मनाउन खोजी रहेका बेला कानुनमन्त्री खरेलले विभिन्न समस्या देखाएको स्रोतको भनाइ छ । खरेलको व्यवहार कठोर र रुखो भएपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले खरेलविरुद्ध आक्रोश व्यक्त गरेका थिए ।
‘राजनीतिक विषयमा कानुनका कुरा उठाउनु हुन्छ भने हामी जान्छौँ । तपाईहरू आफै जे मन लाग्छ त्यही गर्नुस्’, ठाकुरको अभिव्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्री ज्यूले मन्त्री खरेललाई ढाडस दिँदै धेरै नबोल्न निर्देशन दिएपछि बैठकको वातावरण सहज बन्यो ।’
विशेष गरेर मधेस आन्दोलनका बेला आफ्ना लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने मधेसी मोर्चाले जोडदार रुपमा माग राखेको थियो । यो माग मधेसी मोर्चाबाट आएपछि कानुनमन्त्री खरेलले मुद्दा फिर्ता गर्न नसक्ने र माग पूरा हुन नसक्ने जनाएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा लागेको खर्च छिटो दिन पनि कानुन मन्त्रीलाई निर्देशन दिएका थिए । त्यसपछि खरेल र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण रहेको दुई सदस्यीय कार्यदल बनेको थियो ।












प्रतिक्रिया