
काठमाडौँ, २८ फागुन । राष्ट्रिय फुटबल टोलीले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने निश्चित भएको छ ।
मलेसियाली फुटबल सङ्घले आगामी चैत १४ गते मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । मैत्रीपूर्ण खेलमा नेपाली टोलीले मलेसियाको २२ वर्षमुनि (यु–२२)को राष्ट्रिय टोलीसँग खेल्नेछ ।
भारतमा सम्पन्न बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी अधिकांश खेलाडीलाई उक्त खेलमा सहभागी गराउने निर्णय गरेको एन्फाले जनाएको छ ।
राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक ग्यातुकी कोजीले उक्त टोलीको नेतृत्व गर्नुहुनेछ । उहाँको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
प्रशिक्षक कोजी अहिले सिमरामा जारी साताँै सिमरा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुनुहुन्छ । उहाँ आइतबार काठमाडौँ आएपछि उक्त खेलका लागि प्रारम्भिक खेलाडीको घोषणा गर्ने एन्फाको जनाएको छ ।















प्रतिक्रिया