काठमाडौं, ११ साउन । लोकतन्त्र आएपछि भारतमा नपुग्ने झलनाथ खनाल मात्रै नेपालका एक मात्र प्रधानमन्त्री हुन् । त्यसैले पनि उनको भारतसँग ‘खास’ सम्बन्ध रहेको मानिँदैन् ।
भारतसँग घनिष्ठ सम्बन्ध नभएका खनालले शनिबार भारतीय दूतावासले आयोजना गरेको दिवाभोज समेत बहिष्कार गरेका छन् ।
भारतीय विदेश मन्त्रीको सम्मानमा दुतावासले शनिबार आयोजना गरेको दिवाभोजमा पूर्वप्रधानमन्त्रीको हैसियतमा बोलाइए पनि खनाल सहभागी नभएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा वरिष्ठताका आधारमा आफूसँग स्वराजले भेट्नुपर्नेमा कार्यवाहक अध्यक्ष बामदेव गौतमसँग भेटवार्ता तय गरेपछि एमालेका वरिष्ठ नेता खनाल चिढिएका हुन् । पार्टीको वरियताक्रममा खनाल अध्यक्ष ओली पछि पर्छन् ।
अध्यक्षपछिको बरिष्ठ नेता भएकाले कुनै विदेशी टोलीले भेट्दा सम्बन्धित च्यालनमार्फत आफूलाई भेट्नुपर्ने खनालको तर्क छ ।
यसो त खनालले शीर्ष नेताहरुसँगको भेटघाटको तालिका भारतीय पक्षले नभई परराष्ट्र मन्त्रालयले बनाउनुपर्नेमा समेत एमाले नेताहरुलाई सुझाव दिएका थिए । तर, भारतीय पक्षकै समयतालिका अनुसार आइतबार बिहान एमालेका शीर्ष नेता र स्वराजबीच भेटवार्ता भयो ।














प्रतिक्रिया