
काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई एमाले महासचिव ईश्वर पोखरेलले व्यंग्य हानेका छन् ।
उनले सभापतिमा निर्वाचित भएकोमा बधाई तथा सुझाव दिँदै विगतमा गरेको गल्तिहरुको स्मरण गराएर व्यंग्य हानेका हुन् । महासचिव पोखरेलले ट्रयाक बाहिर रहेको कांग्रेसलाई ट्रयाक ल्याउन समेत देउवालाई सुझाव दिएका छन् ।
यस्तो छ महासचिव पोखरेलको शुभकामना सन्देशः
नेपाली काँग्रेसको तेह्रौं महाधिवेशन भरखरै सम्पन्न भएको छ र त्यसले नयाँ नेतृत्व चयन गरेको छ । अब शेरबहादुर देउवा काँग्रेस पार्टीको सभापति र शशांक कोइराला महामन्त्री बन्नुभएको छ । उहाँहरू लगायत सम्पूर्ण निर्वाचित सदस्यहरूलाई बधाइ तथा शुभकामना । देउवा नेतृत्वको टीमले विगतका कतिपय विषयहरूमा आत्मसमिक्षा गर्दै राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अगाडि बढाउन योगदान गर्न सकोस् । शुभकामना !!
नेपालका राजनीतिक पार्टीहरूलाई ‘सत्ता प्राप्तिका लागि बेलाबेलामा जेसुकै र जस्तासुकै निर्णयहरू र कामहरू गर्न पनि पछि नपर्ने’ भनेर पनि टिप्पणी गरिन्छ । मुलुकमा स्थापित संसदीय राजनीतिलाई विकृत बनाउने कुरामा नेपाली काँग्रेस, अझ खासगरी देउवाजीलाई आरोप लाग्नेगरेको छ । लोकतान्त्रिक मूल्य– मान्यताहरूलाई कमजोर बनाउने कुरामा समेत उहाँ मुछिनु भएको कुरा काँग्रेसभित्रै पनि चर्चा गरिन्छ । अहिले शुभकामना दिइरहँदा विगतका ती प्रशंगहरूलाई पनि आम नागरिकहरूले बिर्सन सकेका छैनन् । संविधान निर्माणमा देउवाजीको सकारात्मक भूमिकालाई सम्झना गर्नैपर्छ । जसरी संविधान निर्माणमा मुलुकका प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएका थिए, त्यसको चुनौतीपूर्ण कार्यान्वयनमा पनि ती एकताबद्ध रहुन् भन्ने कुरा नेपाली जनता चाहन्छन् । यस सन्दर्भमा, जेसुकै कारणले भएपनि, विगतमा ‘डि ट्रयाक’ हुनपुगेको नेपाली काँग्रेसलाई ‘ट्रयाक’मा ल्याउन सक्नुहोस्, देउवाजीले । संक्रमणकालको असहज परिस्थितिको अन्त्य नभैसकेको र यो आधारभूत रूपले अन्त्य नहुन्जेलन्जेल प्रमुख पार्टीहरूबीच उच्चस्तरको समझदारी कायम रहनैपर्छ भन्ने कुरालाई देउवाजी र उहाँको नेतृत्वको नेपाली काँग्रेसले हेक्का राख्न सकोस् । जारी संविधानका पक्षधरहरूबीचको एकता अहिलेको आवश्यकता हो । यसलाई टुट्न दिनैहुन्न ! राष्ट्रिय स्वाभिमानका पक्षधरहरू एकताबद्ध रहनैपर्छ ! आत्मनिर्भर नभै स्वाभिमानको रक्षा गर्न सकिदैन । त्यसैले आत्मनिर्भरताको बाटोमा लाग्नैपर्छ ! छिमेकीहरूसित रहँदै आएको असन्तुलित सम्वन्धलाई सन्तुलित बनाउनैपर्छ ! यी कुनै राजनीतिक दल विशेषका ‘एजेण्डा’ होइनन्, सिंगो मुलुकका साझा ‘एजेण्डा’ हुन् ! देउवा जी र उहाँको नेतृत्वमा रहेको नेपाली काँग्रेसले यस दिशामा आफूलाई अगाडि बढाइरहन सकोस्, हार्दिक शुभकामना !!















प्रतिक्रिया