२४ कार्तिक २०८३, मंगलबार

आयो बेलायतका राजकुमार ह्यारीको भ्रमण तालिका, नेपालमा यसरी हुँदैछ स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Harry__Bristish_Price_

काठमाडौँ, २६ फागुन । बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लाग्नुभएका राजकुमार ह्यारीकोे विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारीको आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण हुन लागेको हो ।

राजकुमार ह्यारी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले चैत ६ गते साँझ आयोजना गर्नुहुने स्वागत समारोहमा सरिक हुनुहुनेछ । उक्त समारोहमा उहाँले मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित बेलायती राजदूतावासले आज जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले चैत ७ गते राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिनुहुनेछ ।

त्यसैगरी, उहाँले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

Harry-1
गोर्खा सैनिकसँग ह्यारी

उक्त दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुहुनेछ भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर बेलायती राजमुकुटका निम्ति आफ्नो प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । राजकुमारबाट हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसैगरी, चैत १० गते राष्ट्रपति भण्डारी र राजकुमारबाट काठमाडौँमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन हुनेछ ।

राजकुमार आफ्नो सम्मानमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आयोजना गर्नुुहुने स्वागत समारोहमा सरिक हुनुहुने र समारोहलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ । रासस