३० आश्विन २०८३, शुक्रबार

छ करोडभन्दा बढी लगानीमा पुल निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कञ्चनपुर, २६ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिकाको वैशाखा नालमा रु छ करोडभन्दा बढीको लगानीमा पक्की पुल निर्माणको कार्य पुनः सुरु गरिएको छ ।

जग्गा विवादका कारण अवरुद्ध पुल निर्माणको कार्य विवाद साम्य भएपछि पुनः सुरु गरिएको हो ।

भारतीय बजार खजुरीया जोड्ने सडकमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडारको रु छ करोड ८९ लाख ५६ हजारको सहयोगमा पुल निर्माणको कार्य भइरहेको छ ।

पुल निर्माणका लागि २०७० असार ३ गते निर्माण कम्पनी राजेन्द्र थेगिम एडभेन्चर जेभीसँग सम्झौता भई निर्माणको कार्य सुरु गरिएको थियो ।

सम्झौता भएको दुई वर्षभित्रै पुल निर्माण गर्ने लक्ष्य लिइएको भएपनि स्थानीय बासिन्दासँगको जग्गा विवादले पुल निर्माणको कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका साइट इन्चार्ज तारादत्त बडूले बताउनुभयो ।

पुलका खम्बा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । जग्गा विवाद साम्य बनेपछि चालु आवभित्रै पुल निर्माण गरीसक्ने गरी कार्य अगाडि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।

पुलको लम्बाइ झन्डै २०० मिटर हुनेछ । खोलामा पुल निर्माण नहुँदा छोटी भन्सार कार्यालय बेलौरीको राजस्व सङ्कलनको कार्य प्रभावित हँुदै आएको थियो ।

वर्षात्का बेला खोलामा अत्यधिक पानी हुने भएकाले स्थानीय व्यापारीले निकटवर्ती भारतीय बजार खजुरीयाबाट व्यापारिक सामान ल्याउन नसक्ने अवस्था रहेको स्थानीय विजय भट्टले बताउनुभयो ।

वर्षात्का बेला खोलामा आउने बाढीका कारण खोला तर्न नसकेर नगरपालिकाको तीन वडाका बासिन्दाको अन्य गाउँसँगको सम्पर्क बिच्छेद हँुदा दैनिक उपभोग्य सामग्री ल्याउनबाट वञ्चित रहनुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी खेम सुवेदीले बताउनुभयो ।

खोलामा रहेको वर्षौं पुरानो काठेपुल जीर्ण बन्दा स्थानीय बासिन्दाले जोखिम मोल्दै पुल वारपार गर्नुपर्ने बाध्यता थियो उहाँले भन्नुभयो, “पुल निर्माण हुन थालेपछि यस क्षेत्रका बासिन्दालाई राहत महसुस भएको छ ।” रासस