काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको आजै राति मतगणना गरिने भएको छ ।
निर्वाचनमा अहिलेसम्म करिब २ हजार मत खसेको बताइएको छ । मतदान अपराह्न ४ बजे सक्ने बताइए पनि अझै धेरै प्रतिनिधिले मत हाल्न बाँकी रहेकाले साँझ ७ बजेसम्म लम्बिने अनुमान गरिएको छ । मतदाताको संख्या करिब ३ हजार २ सय रहेको छ । मतदान सकिएको एक घण्टापछि मतगणना शुरु गरिने कांग्रेसले जनाएको छ ।
सभापतिको मतगणना आजै साँझबाट शुरु हुने र भोलि बिहानसम्म घोषणा भइसक्ने बताइएको छ । भावी सभापतिका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा छन् ।
सभापतिमा निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत
पु-याउन नसके पुनः निर्वाचन गर्नुपर्ने हुन्छ । आजको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारीले चाहिएजति मत ल्याउन नसके भोलि १० बजेदेखि पुनः निर्वाचन गरिने कांग्रेसले जनाएको छ ।
अन्य पदका लागि भने ५१ प्रतिशत मत ल्याउनु जरुरी छैन । बढी मत ल्याउने उम्मेदवार विजयी घोषणा हुने छन् । सभापतिको मतगणना सकिएपछि मात्र अन्य पदको मतगणना गरिने भएको छ । सभापतिको मतगणना राष्ट्रिय सभागृहमै हुने छ भने अन्यको मतगणना नेपाली कांग्रेसको मुख्यालय सानेपामा गरिने भएको छ ।
सभापतिबाहेक अन्य उम्मेदवारहरुले बराबरी मत ल्याएमा निर्वाचन समितिले गालाप्रथाबाट विजयी उम्मेदवारको घोषणा गर्ने तयारीसमेत गरेको छ ।












प्रतिक्रिया