काठमाडौंं, २२ फागुन । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले १३ औं महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र पार्टीको विधान संशोधन गर्न माग गरेका छन् ।
महाधिवेशन बन्दसत्रको दोस्रो दिन आज छलफलमा सहभागी जिल्ला सभापतिले पार्टीको सुदृढीकरण र नयाँ संविधानअनुसार विधान संशोधनको माग गरेका हुन् ।
तेह्थुम कांग्रेस सभापति गोविन्द ढुंगानाले केन्द्रले आफू अनुकूल नभइ सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र विधान संशोधन गर्न माग गर्नुभयो ।
सुनसरी कांग्रेस सभापति राजिव कोइरालाले पार्टीको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको गुनासो गर्दै संघीयतामा जाने तर प्रदेश निर्माणमा अखण्डताको शैली अपनाउने पार्टीको विरोधाभाषपूर्ण नीति किन भनी नेतृत्वसँग प्रश्न गर्नुभयो ।
धादिङ कांग्रेस सभापति रमेश धमलाले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।
सबैभन्दा कान्छा सभापतिका रुपमा रहेका चितवन काँग्रेस सभापति जितनारायण श्रेष्ठले १२ औं महाधिवेशनलाई एकताको महाधिवेशन भनेपनि त्यसको भोलिपल्टदेखि नै ६०÷४० को भागबण्डा सुरु भएकोले त्यसलाई यस महाधिवेशनले अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कास्की कांग्रेस सभापति कृष्ण केसीले पार्टीको नीति तथा कार्यक्रममा माओवादीको शसस्त्र द्वन्द्वमा मारिएका तथा पीडित काँगे्रस नेता कार्यकर्तालाई उचित सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
तनहुँ कांग्रेस सभापति वैकुण्ठ न्यौपानेले पार्टीको सुदृढीकरणका लागि विधान संशोधन आवश्यक गरेको उल्लेख गर्दै उच्च शिक्षासम्बन्धी पार्टीको स्पष्ट नीति आउनुपर्ने विचार व्यक्त गर्नु भयो ।
स्याङ्जा सभापति कमल पंगेनीले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न जल, जंगल, जमिन र जवानी (युवा) को उचित परिचालनमा पार्टीले आवश्यक पहल गर्नुुपर्ने बताउनुभयो ।
गुल्मी सभापति भुवन श्रेष्ठ र मोरङ सभापति डिकबहादुर लिम्बूले क्रियाशील सदस्यता वितरणमा केन्द्रको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।
बन्दसत्रमा आज भाग लिएका जिल्ला सभापतिहरुले मञ्चमा न्यून संख्यामा केन्द्रीय पदाधिकारी तथा सदस्य उपस्थिति रहेकोमा आक्रोश पोख्नुभएको थियो । रासस












प्रतिक्रिया