काठमाडौं, २० फागुन । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले नेपाली कांग्रेसका स्वर्गीय सुशील कोइराला र चक्र बास्तोलासँग बिहारको भागलपुर सेन्ट्रल जेलमा भेटघाट र चिनजान भएको बताएका छन् ।
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको उघाटनसत्रमा आज शुभकामना दिने क्रममा मुख्यमन्त्री नीतिश कुमारले भने, ‘बिहारको भागलपुर सेन्ट्रल जेलमा सुशील कोइराला र चक्रबास्तोला थुनिनु भएको थियो’, उनले भने, ‘म पनि त्यही जेलमा थिएँ । उहाँहरूसँग जेलभित्रै भएको हो । जेलभित्रको भेटले कांग्रेसका नेताहरूसँग मेरो भेटघाट बाक्लिएयो ।’
कांग्रेससँगको आफ्नो सम्बन्धका विषयमा स्मरण सुनाएका बिहारका मुख्यमन्त्री नीतिश कुमारले अगाडि भने, ‘बिपी कोइराला पटनाबाट काठमाडौं आउने क्रममा हाम्रा नेता चन्द्र शेखर र म बिमानस्थलमा बिदाइ गर्न गएका थियौँ । त्यस बेला बिपीले हामीलाई नेपालमा पक्राउ गर्ने छन् । हामी स्वयच्छाले नै गिरफ्तारी दिन जान लागेका हौँ भन्नुभएको थियो ।’
यी सबै विषय आफ्नो शुभकामना मन्तव्यका बेला स्मरण गरेका मुख्यमन्त्री नीतिश कुमारले भने, ‘नेपाल–भारतबीच अनेक प्रकारका कुरा उठ्ने गरेका छन् । त्यस्ता भ्रमको पछाडि लाग्नु हुँदैन । नेपाल–भारतको यस्तो सम्बन्ध त्यो कुनै पनि हालतमा टुट्न सक्दैन ।’
कांग्रेसको महाधिवेशनमा प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र विभिन्न दलका नेता तथा मन्त्रीहरूको उपस्थिति देखेर नेपाली राजनीतिक राम्रो संस्कार आफूले पाएको उनले बताए ।
आफ्नो मन्तव्यका क्रममा सबै शीर्ष नेताहरूलाई सम्झिएका नीतिश कुमारले झुक्किएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेस नेता भनेका थिए । दाहाललाई कांग्रेस नेता भनेको सुन्दा कांग्रेसी कार्यकर्ताहरू हाँसेका थिए । तर नीतिश कुमारले यसको भेउ पाउनै सकेनन् ।












प्रतिक्रिया