काठमाडौँ, ९ साउन । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकले सुपुदर्गी सन्धीसहितका ठूला सम्झौता नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार बसेको तीन दलको बैठकले यस्तो निर्णय गरेको हो ।
भातीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई फलदायी बनाउनुपर्नेमा पनि तीन दलले जोड दिएका छन् । उनीहरुले मोदीको नेपाल भ्रमणलाई सकारात्मक भन्दै त्यसलाई नेपालको हितमा प्रयोग गर्न अधिकतम् प्रयास गर्ने समेत निष्कर्ष निकालेका छन् ।
बैठकमा ठूला आयोजनाहरुको निर्माण, सीमा सुरक्षा, सीमा विवाद, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र उर्जा विकासको विषय उठाउने सहमति भएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
बैठकमा प्रतिपक्षी दल एमाओवादीले भने दीर्घकालीन असर गर्ने सन्धी–सम्झौताहरु नगर्न आग्रह गरेको थियो । भारतीय प्रधानमन्त्रीको भ्रमण हुनु सकारात्मक भएपनि तयारी नपुगेका विषयहरु हाललाई थाति राख्न सुझाव दिएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
भारतीय विदेशमन्त्री शुष्मा स्वाराज आज र प्रधानमन्त्री नरेन्द्र मोदी यही श्रावण १८ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
मोदी भ्रमणका क्रममा भारतद्वारा प्रस्तावित विद्युत व्यापार र सीमा सम्झौताको नगर्न नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले माग गर्दै आएको छ । एमाओवादी पनि त्यसको सम्झौताको विरुद्धमा छ ।
माओवादीसहितको ३३ दलीय मोर्चाले जलविद्युतसहितका विषयमा सहमति गर्नु पूर्व राष्ट्रिय सहमति जुटाउन सरकारलाई आग्रह गर्दै आएको छ ।















प्रतिक्रिया