
– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, २० फागुन । काठमाडौंमा नेपाली कांग्रेसको महाधिवेशनले तातिरहेका बेला मधेसमा आन्दोलनरत शक्त सलबलाउन थालेका छन् ।
यसैक्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलन जारी नै रहेको बताएका छन । उनले तत्कालका लागि नाकाबन्दी, आमहडताल लगायतका कार्यक्रम स्थगित भइ आन्दोलनको स्वरुप मात्र परिवर्तन भएको जानकारी दिएका छन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति रुपन्देहीद्वारा विहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ठाकुरले मधेस आन्दोलनका क्रममा घाइतेहरुको उपचारका लागि सरकारले निर्णय गरे पनि त्यो कार्यान्वयन हुन नसकेको बताए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता समेत रहेका ठाकुरले आफूहरु वार्ताप्रति सधै सकारात्मक रहेको र केही समय पछि आन्दोलन सशक्त बनाउने समेत बताए । ‘मोर्चाका कार्यकर्ताहरुलाई सरकारले अनेकौं मुद्दा लगाई आन्दोलनलाई निरुत्साहित गर्न खोजेको छ, तर हामी कदापि बिचलित हुँदैनौ’ अध्यक्ष ठाकुरले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले सरकारद्वारा एकतर्फी रुपमा राजनीतिक संयन्त्र निर्माण गरिएको आरोप लगाए । उनले अहिले मधेसमा देखिएको शान्त वातावरण अर्को आन्दोलनको तयारी भएको बताए । पूर्व भौतिक योजना तथा निर्माण मन्त्री समेत रहेका नेता त्रिपाठीले विभिन्न नाकाबाट पेट्रोलियम पदार्थ तथा ग्यास ठूलो परिमाणमा भित्रिए पनि सरकारले कालोबजारीलाई संस्थागत रुपमै संरक्षण गरेको कारण सर्वसाधारण जनताले सहज रुपमा इन्धन तथा ग्यास पाउन नसकेको बताए ।
पत्रकार सम्मेलनमा तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्ला, केन्द्रिय सदस्य कमलेश्वर पुरी, रुपन्देही जिल्ला अध्यक्ष अजय वर्मा, उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला प्रवक्ता मोहम्मद इस्लाम लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया